कांग्रेस दोहोरो दबाबमा



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको गलत कामविरुद्ध सदन र सडक दुवैमा संघर्ष गर्ने बताउँदै आएको छ । थोरै संख्या भए पनि कांग्रेसले सदनमा असहमतिका विषयहरुमाथि प्रभावकारी ढंगले विरोध जनाइरहेको छ भने सडक संघर्षका कार्यक्रमहरु पनि तय गर्दै छ ।

संघ, प्रदेश र स्थानीय तीनै तहमा पराजित भएपछि सानो संख्यामा खुम्चिएको कांग्रेस आन्तरिकरुपमा देशैभरि गुट–उपगुटमा विभाजित भएको कारण सडक संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि बढाउन सकेको छैन । झन्डै दुई तिहाइ नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षको असहमतिलाई वास्ता नगरी बहुमतको आधारमा अघि बढ्न खोजे पनि कांग्रेसले सदन र सडक दुवैबाट दबाब सृजना गर्न खोजेको छ ।

पछिल्लो समय चर्को जनदबाबका बाबजुद पनि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन गर्ने क्रममा सत्तापक्ष पेलेरै अघि बढ्न खोजेको छ । आफ्नै सहमति र सम्झौताविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को सर्वोच्चता भन्दै सम्झौता तोडेपछि कांग्रेस अझ सशंकित भएको छ । प्रधानमन्त्री ओलीले चाहेको भए डा. केसीको माग सहजै सम्बोधन हुन सक्थ्यो ।

नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो दलभित्र ह्वीप लगाउन सक्थ्ये । यही विषयमा सदनमा प्रतिपक्ष कमजोर भएको आँकलन गरी सत्तापक्ष बहुमतको आधारमा अघि बढ्न खोजेपछि आन्दोलन चर्कने सम्भावना बढ्दै गएको छ । अब सडक आन्दोलन पनि चर्काउनुपर्ने निष्कर्ष निकाली प्रतिपक्ष दल कांग्रेसका शीर्षनेताहरु केही दिनदेखि जिल्ला दौडाहमा गई आफ्ना नेता, कार्यकर्ता र जनमानसलाई यो संकेत दिइसकेका छन् ।

कांग्रेसभित्र अहिले दोहोरो दबाब छ । पहिलो, दुई तिहाइ सरकारविरुद्ध जनमानस सिर्जना गर्नु छ । दोस्रो, आफ्नै पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउनुपर्नेछ । हालै मात्र संविधानअनुसार पार्टी विधान तय गरेको कांग्रेसले विधानबमोजिम पार्टीको संरचना तत्काल बनाउनुपर्नेछ । यस्तो अवस्थामा कांग्रेसभित्र आन्तरिक किचलो फेरि एकपल्ट बढ्ने देखिन्छ । पार्टीभित्रको आन्तरिक किचलो, गुट–उपगुट बढ्दा सडक आन्दोलन प्रभावकारी नहुने देखिन्छ । पार्टीलाई मजबुत र एकताबद्ध बनाउन समयमै गर्नुपर्ने काम गर्न नसक्दा कांग्रेसभित्र नेतृत्वको आलोचना भैरहेको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी मात्र हैन सबै संवैधानिक निकायहरुमा समेत राजनीतिक हस्तक्षप भैरहेको गुनासो आइरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने यसरी दोहोरो दबाबमा परिरहेको छ । सशक्त प्रतिपक्ष भएको देशमा सरकार पनि राम्रो काम गर्न सशक्तरुपमा अघि बढ्ने भनाइ छ । तीनै तहको सरकारमा कांग्रेस कमजोर छ । एकथोक भन्ने अर्कोथोक गर्ने सत्तापक्षको रबैयालाई चिर्न प्रमुख प्रतिपक्ष दल यो दोहोरो दबाबलाई चिर्दै अगाडि बढ्नु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्