उच्च शिक्षामा प्रति विद्यार्थी ४ लाख लगानी, प्रतिफल निराशाजनक



ईश्वरराज ढकाल, काठमाडौं
लुम्बिनी बौद्ध तथा नेपाल संस्कृत विश्वविद्यालयमा सरकारको लगानी बढी भए पनि प्रतिफल सन्तोषजनक देखिएको छैन । प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी बढी हुनु स्वाभाविक हो । तर साधारण धार, धर्म संस्कृति र दर्शनसँग जोडिएका विषय अध्यापन हुन विश्वविद्यालयमा प्रति विद्यार्थी लगानी अस्वाभाविकरुपमा बढी भएपछि समसया देखा परेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदनमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्ने प्रति बर्ष एक विद्यार्थीका लागि चार लाख रुपिया लगानी भएको देखिएको छ । लगानी अनुरुप प्रतिफल भने निरासाजनक रहेको छ ।

विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार सो विश्वविद्यालयमा हाल १ सय ९६ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा देवराज अर्यालले अनुसन्धान विषयमा पढाउने विश्वविद्यालयमा प्रति विद्यार्थी लागत बढ्नु स्वाभाविक भएको दावी गर्नुभयो । उहाँले सो विश्वविद्यालयको प्रतिफलको विषयमा कुराकानी भइरहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयमा पनि प्रति बर्ष प्रति विद्यार्थी लागत २८ हजार ४ सय रहेको छ । लगानी अनुसारका प्रतिफल दिन नसक्नु सो विश्वविद्यालयका पदाधिकारीहरुको कमजोरी रहेको औंल्याइएको छ । आयोगका सदस्य एवं शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले बौद्ध दर्शन र संस्कृत विषयमा लागत बढ्नु स्वाभाविक भए पनि प्रतिफल नदेखिनु चिन्ताको बिषय भएको बताउनुभयो ।

सरकारको कमजोरीले गर्दा समस्या भएको औंल्याउँदै उहाँले भन्नुभयो–‘विश्वविद्यालयका छानिएका नेतृत्वको कारण लगानी अनुसार प्रतिफल पाउन नसकेको हो ।’ विश्व प्रसिद्ध बौद्ध र संस्कृतका विषयमा अध्ययन हुने विश्वविद्यालयमा सरकारले गरेको लगानीबाट कस्तो प्रतिफल प्राप्त भएको छ भन्ने विषयमा अध्ययन गर्नु आवश्यक रहेको उहाँको धारणा थियो ।
पौराणिक ज्ञान र दर्शनको विषयमा अध्ययन गर्ने विश्वविद्यालयमा कमजोर पदाधिकारी छनोट गर्दा समस्या आएको उहाँको भनाइ थियो ।

लगानीको हिसाबले दोस्रो दर्जामा कृषि तथा बन विश्वविद्यालय देखिएको छ । सो विश्वविद्यालयमा प्रतिबर्ष प्रति विद्यार्थी १ लाख ८९ हजार ५ सय १४ रुपियाँ खर्च देखिएको छ । हाल सो विश्वविद्यालयमा १ हजार ५ सय ६३ विद्यार्थी अध्ययनरत छन् । पूर्वाञ्चल विश्वविद्यालयमा ६८ हजार ४ सय २१, त्रिभुवन विश्वविद्यालयमा प्रति विद्यार्थी लागत ४७ हजार ५ सय ९, पोखरामा ४२ हजार ५ सय ३१ , मध्यपश्चिममा २९ हजार ५ सय ४७, सुदूरपश्चिममा ४३ हजार ७ सय ८१ रुपियाँ लगानी भएको छ ।

प्राविधिक विषय बाहेक अन्य विषयमा अध्यापन गराइने विश्वविद्यालयमा प्रतिफल बिग्रँदै गएको छ । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा अर्यालले सरकारले अब लगानीसँगै प्रतिफलको विषयमा अध्ययन गर्न लागेको जानकारी दिनुभयो ।

तथ्यांकमा काठमाडौं विश्वविद्यालयमा प्रति विद्यार्थी ८ हजार ८ सय २२ रुपियाँ लगानी भएको देखिन्छ । सामुदायिक विद्यालयमा सरकारले प्रति विद्यार्थी २ हजार ७ सय ८५ रुपियाँ लगानी गरेको छ ।

‘अब सरकारले सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी वृद्धि गर्ने सोच अघि बढाएको छ’ –अनुदान आयोगका सदस्य सचिव प्राडा अर्यालले भन्नुभयो ।
सरकारी तथ्यांक अनुसार सरकारको कुल बजेटको करिब ९ प्रतिशत रकम उच्च शिक्षामा खर्च हुने गरेको छ । सरकारले हाल सञ्चालनमा आएका १० वटा विश्वविद्यालयका करिब ३ लाख ६० हजार विद्यार्थीे अनुपात औषतमा करिब ४९ हजार ४ सय ३७ रुपियाँ देखिएको छ । सरकारको लागनी कम भएका विश्वविद्यालयमा घरपरिवारको लगानी बढी भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्