कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी



कञ्चनपुर,  महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमता भन्दा बढी कैंदीबन्दी भएपछि सुत्ने ठाउँको अभाव भएको छ ।

कारागारमा ९५ जनाको क्षमता भए पनि दुई सय ९५ कैदीबन्दी राखिएको छ । क्षमता भन्दा तेब्बर कैंदीबन्दी भएपछि सुत्नका लागि ठाउँ अभाव भएको कारागारका प्रमुख श्यामप्रसाद भट्टले बताउनुभयो । “थप कैंदीबन्दीलाई राख्नका लागि भवनको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले ग्यालरी र भान्सामा कैदीबन्दीलाई सुताउनु परेको छ ।” कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुबै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् ।

चिसोसँगै न्यानो ओढ्ने कपडाको समेत अभाव रहेको प्रमुख भट्टले जानकारी दिनुभयो । भवन निर्माणका लागि कारागार व्यवस्था विभागमा जानकारी गराइए पनि सुनवाई हुन नसक्दा कैंदीबन्दीले सुत्नका लागि सास्ती खेप्नु परेको उहाँले बताउनुभयो । कारागारका बर्षौ पुराना जिर्ण भवनको मर्मत सम्भारको कार्य हुन सकेको छैन । पुराना भवन चुहिने भएकाले बर्षातका बेला कैंदीबन्दीले झनै सास्ती खेप्नु परेको छ ।

भवन भित्रै त्रिपालको छाना बनाएर कारागार प्रशानले कैंदीबन्दीलाई राख्नुपर्ने बाध्यता छ । भवनमा बर्षौ पहिले लगाईएका इट्टा समेत खिइएर झर्न थालेका छन् । पर्खाल भित्रको च्यानल गेट समेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् ।

कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको प्रमुख भट्टको भनाई छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच विघा क्षेत्रफलमा फैलिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्