मुख्य सडकमा सधैँ जोखिम



हिक्मत नेपाली, दैलेख ।
सुर्खेत हुँदै दैलेख जाने मुख्य सडक खण्ड जिर्ण बन्दै गएको छ । तत्कालिन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै गैटीले खनेर सडक निर्माणको शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ ।

सडक निर्माणको शिल्यान्यास भएको साढे तीन बर्ष पछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको थियो । २०५३ साल असोजमा दैलेख बजारसम्म पहिलो पटक सार्वजनिक बस आएपनि त्यसको चार बर्षसम्म हिलाम्य सडक भएका कारण दैलेख देखि सुर्खेत जान ८ घण्टा लाग्ने गथ्र्यो । २०६६ सालबाट कालोपत्रे गर्न सुरु गरिएको दैलेख–सुर्खेत सडकखण्ड अहिले झनै जिर्ण बन्दै गएको छ ।

सुर्खेतबाट दैलेख जाँने मुख्य सडकमा खाल्डैखाल्डा भएपछि यातायात संचालनमा समस्या भएको छ । सडक जीर्ण बन्दै गएपछि दैलेखको गुराँसे–सियाकोट हुँदै सञ्चालन हुने यातायातका साधन सञ्चालनमा समस्या भएको हो । सुर्खेतदेखि दैलेख सम्मको ६७ किलोमिटर सडक खण्ड बढी जीर्ण भएको यात्रुको गुनासो छ । सडकका हजारौं स्थानमा खाल्डाखुल्डी छन् । जसका कारण यात्रा सास्तीपूर्ण बनेको यात्रुको गुनासो छ ।

सुर्खेत–दैलेख सडकमा अहिले दैनिक दुईसय सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । २०६६ सालबाटै सडक स्तरोन्ती सहित कालोपत्रे सुरु गरिएको भएपनि काम गुणस्तरीय नुहँदा यात्रुहरु सास्ती भोग्न बाध्य छन् । सडक मर्मत सम्भारको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको लापरबार्हीका कारण समस्या भएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताउनुभयो ।

सडक मर्मतको जिम्मा लिएका ठेकेदारहरुले अघिपछि काम नगर्ने र जब बिच बर्षाको बेला मात्रै काम गर्ने गरेका छन् । ‘हरेक बर्षातको सममा गरिएको काम बालुवामा पानी हाले झै भएको छ, यात्रु पूर्ण महतराले भन्नुभयो । बर्षेनी करोडौ लगानी गरिएका सडक स्तरोन्ती हुन सकेको छैन् । यो सडक खण्डको सियाकोट सम्म निकै साँघुरो सडक भएका कारण सवारी साधन संचालनमा समस्या भएको उहाँको भनाई छ ।

सडक स्तरोन्नती र चौडा गरिए सवारी संचालनमा सहज हुनुका साथै यात्रुलाई समेत सहज हुने यात्रुहरुको भनाई छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चालु आर्थीक बर्षको ६ महिनाको अवधीमा दैलेख सुर्खेत सडक खण्ड र जिल्लाका अन्य सडक खण्डमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । यिनै दुर्घटनामा ३ जना शक्त घाइते भए भने ३४ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार जिर्ण र साँघुरो सडकका कारण दुर्घटनाका जोखिम बढ्दै गएको छ ।

दैलेख–सुर्खेत सडकखण्ड स्तरोन्तीका यसै आर्थीक बर्षमा केन्द्र सरकारले केन्द्रिय आयोजना अन्तरगर्त १० करोड बजेट विनियोजन गरिसकेको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेश सांसद धर्मराज रेग्मीले सडक स्तरोन्नती यसै बर्ष गरीने बताउनुभयो । अहिले कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेत हुँदै कर्णालीका जिल्ला र रारा जाने पर्यटकहरु समेत यहि बाटो हुँदै जाने गरेका छन् ।

त्यतिमात्र नभई दैलेखको पञ्चकोशी तिर्थ स्थल अवलोकनका लागि दैलेख भित्रिने पर्यटकलाई सहजताका लागि कोटीला, श्रीस्थान, नाविस्थान धुलेश्वर हुँदै पादुका सम्म जाने सडक स्तारोन्नती हुनेपर्ने स्थानीयको माग छ ।

‘ड्राईभरको कारणले मात्र दुर्घटना भएको हो भन्छौं, तर दुर्घटनाका धेरै कारणहरु छन्,’ यात्रु नमराज थापाले भन्नुभयो ‘दैलेख सुर्खेत सडक खण्ड निकै साँगुरो छ, बढिजसो दुर्घटना भएका स्थानहरुमा सडकको लेवल मिलेको छैन्, घुमाउरो सडक धेरै छ, सडक अनुसारको मोड पुग्दैन, सवारी चालकहरुले तिब्र गतिमा सवारी साधन दौडाउने प्रचलन छ, यस्ता सवै कारणहरुले सडक दुर्घटना बढ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्