नाडाल छैटौँपटक सेमिफाइनलमा



मेलबर्न, (एजेन्सी)
स्पेनका राफेल नाडालले छैटांैपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनलमा अमेरिकाका फ्रान्सिस टाइफोएलाई ६–३,६–४,६–२ ले हराउँदै यो समेत उनले अस्ट्रेलिया ओपनमा छैटौँपटक अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। समग्रमा योसमेत उनी ३०औं पटक कुनै पनि ग्रान्डस्लामको सेमिफाइनलमा पुगेका हुन्।

त्यसअघि भएको अर्को क्वार्टरफाइनलमा ग्रीसका स्टेफानोस सितसिपासले अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए। उनले क्वार्टरफाइनलमा स्पेनका रोबर्टो अगुटलाई हराए। १५औं वरियताका सितसिपासले २४औं वरियताका अगुटलाई ७–५, ४–६, ६–४, ७–६ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यसअघि उनले प्रि–क्वार्टरफाइनलमा २० वटा ग्रान्डस्लाम विजेता रोजर फेडेररलाई हराएका थिए। मंगलबारको जितसँगै उनी आफ्नो करियरमा पहिलोपटक कुनै ग्रान्डस्लामको सेमिफाइनलमा पुगेका हुन्।

जितपछि सितसिपासले यहाँसम्म पुग्न धेरै मेहनत गरेको बताए। सितसिपासले भने,–ँम आफ्नो सपनामा बाँचिरहेको छु। यहाँसम्म पुग्नका लागि मैले धेरै मेहनत गरेको छु, मलाई आफ्नो मेहनतप्रति भरोसा छ। यो जितपछि म पागल भएको छु। मेरो लक्ष्य २०१९ मा चारमध्ये कुनै एउटा एक ग्रान्डस्लामको सेमिफाइनलमा पुग्नु थियो। तर, २२ दिनभित्र नै त्यो साकार भएको छ। समर्थनका लागि तपाईहरु सबैलाई धन्यवाद दिन चाहन्छु।’

मंगलबार नै भएको महिला एकलतर्फको क्वार्टरफाइनलमा जित हासिल गर्दै चेक रिपब्लिककी पेट्रा कितोभा र अमरिकाकी डेनिएले कोलिन्सले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी छन्। २८ वर्षीय कितोभाले अस्ट्रेलियाकी बर्टीलाई ६–१, ६–४ को सोझो सेटमा हराइन् भने कोलिन्सले रसियाकी पाभल्युचेन्कोभालाई ६–२, ५–७, १–६ ले पाखा लगाइन्।

प्रतिक्रिया दिनुहोस्