थ्रीस्टारको जितसँगै सेमिफाइनल समीकरण पूरा



गोकुल घोरसाइने, बारा
रुस्लान थ्रीस्टार क्लब सिमरामा जारी दशौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेसंगै सेमिफाइनल समिकरण पूरा भएको छ।
मंगलबार सिमरा रंगशालामा सीएमजी संकटा क्लबविरुद्धको खेलमा २–० को जित निकाल्दै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो। थ्रीस्टारले फाइनल यात्राको लागि अब हिमालयन शेर्पाको सामना गर्नेछ। बुधबार पहिलो सेमिफाइनलमा आयोजक नवजनजागृति सिमराले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ।

थ्रीस्टारलाई अन्तिम चारमा सुरक्षित गर्ने क्रममा अफ्रिकी स्ट्राइकर फोफाना फोडे र सुसान श्रेष्ठले समान एक–एक गोल गरेका थिए। खेलको १३औं मिनेटमा फोडेले थ्रीस्टारका लागि खाता खोलेका थिए। रञ्जन विष्टले डिबक्सभित्र निकालेको सुन्दर पासमा फोडेले बल जाली चुमाएका थिए।

प्रशिक्षक मेघराज केसीको पहिलो रोजाइमा नपरेका सुसान श्रेष्ठले थ्रीस्टारका लागि खेलको अन्तिम समयमा गोल गर्दै २–० को जित सुनिश्चित गरे। खेलको ७८औं मिनटमा फोफाना फोडेको स्थानमा मैदान छिरेका सुसानले ८५औं मिनटमा गरेको गोल थ्रीस्टारको जीतमा पर्याप्त बन्यो। थ्रीस्टारका रूपेश केसीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संकटाका डिफेन्डरले डिबक्सबाट क्लिएर गर्न नसक्दा सुसानले त्यसको फाइदा लिंदै गोल थपेका थिए।

थ्रीस्टारविरुद्धको खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा आठौं संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरियो। पहिलो हाफमा इन्जुरी समयको अन्तिम मिनटमा सरोज दाहालको प्रहार थ्रीस्टारका गोल रक्षक एलन न्यौपानेले विफल पारे। सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका दाहालले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार विफल हुँदा पहिलो हाफमा बराबरी खेल्ने संकटाको अवसर खेर गएको थियो।

अफ्रिकी मुलका खेलाडी क्रेडिक अब्बाले संकटाका लागि अर्को अवसर पनि गुमाए। सेन्टर लाइनबाट अब्बाले अघि बढाएको बल डिएरियाबाट थ्रीस्टारका डिफेन्डर डाम्बियाले क्लिएर गरेका थिए।

सिमरा रंगशालामा संकटाविरुद्ध हावी भएको थ्रीस्टारले पनि केही सुन्दर अवसर सदुपयोग गर्न सकेन। खेलको ५३औं मिनटमा सुनिल बलको क्रस बल फोफाना फोडेले खेर फाले। पेनाल्टी एरियामा पाएको अवसरलाई फोडेले फितलो प्रहार गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाले बचाउ गरे।

५६औं मिनटमा रञ्जन विष्टको सुन्दर पास फोडेले सदुपयोग गर्न सकेनन्। डिबक्सभित्र रञ्जनले निकालेको बललाई फोडेले सम्हाल्न नसक्दा बाहिरियो। यस्तै खेलको ७०औं मिनटमा रञ्जन विष्टको हेडिङ बल संकटाका सरोज दाहालले गोललाईनबाट क्लिएर गरे। बल पन्च गर्न अघि बढेका संकटाका गोलरक्षकलाई विट गर्दै रञ्जनले उत्कृष्ट हेडिङ गरेका थिए।

खेलको म्यान अफ दि म्याच थ्रीस्टारका डिफेन्डर अडामा डाम्बिया घोषित भए। उनले नगद दश हजारसहित ट्रफि हात पारे। हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले शुरूआतमा एक गोलले पछि परेपछि खेलमा फर्कन नसक्दा पराजय व्यहोरेको बताए। आफ्ना खेलाडीले सोंचेअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै प्रशिक्षक खड्गीले थ्रीस्टारका खेलाडीले संकटाविरुद्ध सुन्दर प्रदर्शन गरेको बताए। ए डिभिजन लिगपछि थ्रीस्टारबाट बाहिरिएका खेलाडी निराजन खड्कालाई समेत थ्रीस्टारविरुद्धको खेलमा मैदान उतारेको संकटाका प्रशिक्षक खड्गीले खड्का संकटासंग अनुबन्धनको प्रकृयामा रहेको बताए।

जीतपछि खुसी देखिएका थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए। जीतपछि खुसी भए पनि थ्रीस्टारका खेलाडीले स्तरअनुसारको प्रदर्शन भने गर्न नसकेकोको बताए। लिगपछि टिममा केही नयाँ खेलाडी आएको बताउँदै उनीहरु टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको उनको भनाइ थियो। खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित रहेको बताउँदै केसीले सेमिफाइनलमा थ्रीस्टारले सुधारिएको खेल प्रदर्शन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्