“नेपालमा १७ अर्ब डलरको लगानी आवश्यक”



नेपाल समाचारपत्र, काठमाडौं
चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी० का उपाध्यक्ष झाङ सेनफेङले दुवै मुलुकका नेताले आपसी राजनैतिक विश्वास, संयुक्त रूपमा वेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडि बढाउने, दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा विगतमा गरेका सहमति, समझदारीकै कार्यान्वयनको सन्दर्भमा ५० सदस्यीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको बताए।

नेपाल उद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित ‘नेपाल–चीन व्यापारिक फोरम’को बैठकमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका सेनफेङले बताए। नेपालका प्रधानमन्त्रीको गत वर्षको चीन भ्रमणको स्मरण गर्दै चीन सबैभन्दा ठूलो व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपाल आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए। उनले आजको यस फोरमले दुवै देशका उद्यमीलाई आपसी सहयोगको क्षेत्रको आदान प्रदानको लागि मार्ग प्रशस्त गर्दै प्लेटफर्म निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो। यसलाई बढी प्रभावकारी बनाउन उनले प्रमुख तीन सुझाव दिँदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रूपमा बढाउनुपर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नुपर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनुपर्ने बताए।

चीनबाट आएको सीसीपीआईटीको प्रतिनिधि मण्डललाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत् र हल्का उत्पादन उद्योगलगायत सेवा क्षेत्रका उद्योगमा लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको र मुलुकले वैदेशिक लगानी भित्र्याउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, बौद्धिक सम्पत्तिसम्बन्धी कानुन, एन्टी डम्पिङ कानुन एवम् आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानुनको संशोधन, पुनर्लेखन भइ वैदेशिक लगानीको लागि अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुुभयो। सो अवसरमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले नेपालको चीनसँगको व्यापारले दोस्रो स्थान ओगटेको र सरकारी नीति नियम व्यापारघाटा कम गर्नेतर्फ परिलक्षित रहेको र करिब दुई महिनाभित्रमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर औद्योगिक लगानी अनुकूल वातावरण सिर्जना हुने, एकद्वार केन्द्रबाट सेवा दिन पूर्वाधार तयार भइसकेको बताउँदै नेपालमा जलविद्युत्, खानी, निर्माण, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, र खाद्य प्रशोधन आदि क्षेत्रमा लगानी प्रचुरतम सम्भावना रहेको हुँदा चिनियाँ लगानी यसतर्फ आकर्षित हुनुपर्ने धारणा राख्नुभयो।

कार्यपत्र प्रस्तुत गर्दै परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा पूर्वाधार सेलका संयोजक वीरेन्द्रराज पाण्डेले नेपालमा व्यावसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भैरहेकोमा त्यसलाई बढाई १७ अर्ब डलर बराबरको लगानी हुनुपर्ने बताउँदै पूर्वाधार क्षेत्रमा विगतमा भएका कठीनाई हटाउने प्रयास स्वरूप परिसंघले दुईवटा पूर्वाधार सम्मेलन गरिसकेको र २०१९ मा तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना रहेको बताउनुभयो। कार्यक्रममा चीन र नेपालका उद्यमी व्यवसायीबीच बीटूबी बैठक सम्पन्न भएको थियो। चीनको प्रतिनिधिमण्डलमा समावेश उद्यमी व्यवसायीहरू पूर्वाधार, वित्त तथा लगानी, विद्युतीय ऊर्जा उद्योग, निर्माण उद्योग, कृषि तथा केमिकल्स, सूचना प्रविधि तथा सञ्चार क्षेत्रका करिब ५० प्रतिनिधि र नेपालका तर्फबाट परिसंघका उद्यमी व्यवसायीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्