पर्वतारोही बिकिनी क्लाइम्बरको मृत्यु



ताइपेई, (एजेन्सी)
‘बिकिनी क्लाइम्बर’ नामले चिनिएकी एक ताइवानी महिला पर्वतारोहणका क्रममा पहाडबाट खसेपछि मृत्यु भएको छ।
३६ वर्षीय जिजी वु मध्य ताइवानस्थित युसान पहाड २५ दिनको हाइकिङका क्रममा ६५ फिट तल खोँचमा खसेको ताइवान न्युजले जनाएको छ। खसेपछि खुट्टामा लागेको गम्भीर चोटका कारण उनी हलचल गर्न असमर्थ भएको अखबारले जनाएको छ।

सहयोगका लागि उनले कयौंपटक फोन गरेको तर अत्यन्त खराब मौसमका कारण आपत्कालीन सहायताकर्मी तत्काल उनीसम्म पुग्न असमर्थ भएको जनाइएको छ। करिब २८ घन्टापछि वुलाई एयरलिफ्ट गरी त्यहाँबाट निकालिए पनि उनको मृत्यु भइसकेको अधिकारीहरूले बताएका स्थानीय वेबसाइट लिबर्टी न्युजले जनाएको छ।

वुको निधनका कारण अहिलसम्म खुलाइएको छैन। वुले यात्राका क्रममा पहाडका चुचुरामा पुगेर बिकिनीमा खिचेका रोचक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर उनले ठूलो संख्यामा फ्लोवर बनाएकी थिइन्।

वुले पछिल्लो पोस्ट फेसबुकमा गत बिहीबार गरेकी थिइन्। ‘आजको उत्सव मनाउँदै’ क्याप्सनमा पहाडको चुचुरोको आकर्षक तस्वीर उनले शेयर गरेकी थिइन्। उनको मृत्युको समाचार आएपछि कयौं संख्यामा उनका फ्लोवरले उनको तस्वीर पोस्ट गरिएको ठाउँमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्