तालिवानी आक्रमणमा सय बढी मारिए



काबुल, (एजेन्सी)
अफगान गुप्तचर तथा सैनिक तालिम केन्द्रमा तालिवानी लडाकूबाट भएको भीषण आक्रमणमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अफगान सुरक्षा निकायले मंगलबार जनाएको छ। अघल्लो दिन पनि तालिवानले लोगार प्रान्तमा गरेको आक्रमणमा सरकारी पक्षका ८ जना मारिएका थिए।

गुप्तचर निकायको तालिम केन्द्रमा शुरूमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो। त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ। वार्दक प्रान्तका प्रान्तीय परिषद्का उपप्रमुख मोहम्मद सरदार बखयारीले फेला परेका अधिकांश शवको सनाखत भइसकेको बताएका छन्।

राष्ट्रिय सुरक्षा विभाग ‘एनडीएस’ को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या तत्कालै बाहिर आउन नसकेको बताइएको छ। राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शहरमा उक्त तालिम केन्द्र रहेको छ।

आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिकरूपमा ध्वस्त भएको देखिएको छ। यस घटनामा आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएको नाम उल्लेख गर्न नचाहने एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन्। वार्दाक प्रान्तीय परिषद्का सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षेति पुगेको जानकारी स्थानीय सञ्चारमाध्यमलाई दिएका छन्।

परिषद्का प्रमुख अख्तर मोहम्मद ताहिरीले एनडीएस सैन्य बल अफगान प्रहरी र सेनाको तुलनामा निकै कुशल तालिमप्राप्त एवं अत्याधुनिक हातहतियारबाट सुसज्जित हुने गरेको पनि जानकारी दिएका छन्।

उनले आक्रमण गर्न आएका तालिवानी लडाकूले अफगान विशेष फौजले लगाउने पोशाक लगाएको पनि जानकारी दिएका छन्। पछिल्लो समयमा
सरकारी सुरक्षा फौज र तालिवान लडाकूबीचको संघर्ष निकै चर्किंदै गएको छ। विगतमा यस्तो समय अफगानिस्तानमा चिसो मौसमको कारण प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए। संयुक्त राष्ट्रसंघले र अमेरिकाले समेत पटक–पटक तालिवान समस्या समाधान गरी अफगानिस्तानमा स्थायी शान्ति स्थापनाका लागि प्रयास गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्