उब्जाउ जमिन बन्यो जंगल



दुर्गाप्रसाद शर्मा, पर्वत
सुविधा र अवसरको खोजीमा गाउँघरबाट शहरमा बसाइँसराई बढेपछि उब्जाउ खेतबारी जंगलमा परिणत हुन थालेका छन्।
पर्वतको ग्रामीण क्षेत्रमा बसाइँसराई बढेपछि हजारांै रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएका छन्।

सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्ने क्रम पर्वतका दुर्गम गाउँ मात्रै होइन सुगम गाउँमा समेत बढेको छ। जनजातिकोे बाहुल्यता भएका बस्तीहरू त खाली हुने अवस्थामा छ भने खेती योग्य जमिन ९० प्रतिशतभन्दा बढी बाँझो छ। पर्वतको आर्थर, चित्रे, भूकदेउराली, राम्जा, शालिजा, शालिजा, क्यांग, लेकफाँट, भोक्सिंग, बालाकोट, होश्रांगदीलगायतका उच्च पहाडी क्षेत्र र बेसीका बस्ती समेत छिमेकी शहरमा झरेपछि गाउँमा खेती गर्र्न श्रमिक नपाउँदा जमिन बाँझो भएको छ।

बसाई मोदी गाउँपालिका–८ चित्रेमा रहेको सयौं रोपनी खेतीयोग्य जमिन डरलाग्दो जंगलमा परिणत भएको छ। दुई दशकअघिसम्म धानका ठूला–ठूला गाँज देख्न पाइने जमिनमा अहिले ठूल्ठूला रूखले ढाकिएको छ। मोदी गाउँपालिका–८ चित्रेका वडाध्यक्ष सुकबहादुर गुरुङले खेतीयोग्य जमिनमा खेती लगाउन छाडेपछि झाडी र जंगलमा परिणत भएको बताए। ‘दुई दशकअघिसम्म यो जमिनमा ठूल्ठूला गाँजसहितको धान देख्न पाइन्थ्यो तर अहिले जंगल र झाडीले भरिएको छ’ –विगतको खेतीयोग्य जमिनमा भरिएको जंगल देखाउँदै वडाध्यक्ष गुरुङले भने।
पञ्चासेको काखमा रहेको चित्रेमा मात्रै होइन आर्थर, राम्जा पनि त्यही समस्या छ। यहाँ बसोबासका लागि सुन्दर हावापानी रहे पनि सुविधाको खोजीमा त्यहाँका बासिन्दा धमाधम पोखरा र छिमेकी शहरबजारमा बसाइँ झरेपछि माथिल्लो भेग सुनसानजस्तै बन्न पुगेको छ। उनीहरूको जमिनसमेत बाँझिदै गएको छ। ‘खेती लगाउने मान्छे नै नभएपछि राम्रो अन्न उत्पादन हुने जमिन त्यत्तिकै खेर गएको गुरुङले बताए।

 

प्रतिक्रिया दिनुहोस्