घूसविरुद्धको सकारात्मक अभियान



प्रहरी प्रशासनले हरेक काम गर्दा घूस माग्छ भन्ने नेपाली सोचलाई परिवर्तन ल्याउँदै प्रहरीले घूस दिने व्यक्तिलाई कारबाही गर्ने अभियानलाई तीव्र बनाएको छ । प्रहरीले आफ्नो छविमा सुधार ल्याउन घूसविरुद्धको अभियानलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीभित्रका धमिरालाई निर्मूल पार्ने अभियान घोषणा गरेपछि मातहतका निकायले विभिन्न अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको अभियानलाई निरन्तरता दिएपश्चात् घूस खाने प्रहरीको प्रवृत्तिमा समेत कमी आउने अपेक्षा गरिएको छ ।

केही समययता महानगरीय प्रहरी कार्यालयले घूसविरुद्धको अभियानलाई तीव्रता दिएपछि प्रहरीलाई प्रभाव पार्न १ सयदेखि ५ हजारसम्म घूस दिने २६ जनालाई पक्राउ गरी सामाजिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको छ । सामाजिक मर्यादाको ख्याल रहोस् र आफूले गरेको गल्ती महसुस गराउन उक्त अभियान सञ्चालन गरेको दाबी प्रहरीले गरेको छ । सामाजिक विकृतिको रूपमा रहेको घूस प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले घूस दिने व्यक्तिलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । यसले प्रहरी कर्मचारीको वृत्ति विकासमा समेत प्रोत्साहन पुग्ने प्रहरीले दाबी गरेको छ ।

संसारभर नै प्रहरीले घूस खान्छ भन्ने मनोवृत्ति कायम रहेकै बेला नेपाल प्रहरीले चलाएको उक्त अभियानलाई सकारात्मकरूपमा लिनुपर्दछ । प्रहरीको यो अभियान प्रचारमुखी नभई परिणाममुखी हुनुपर्दछ । नेपाल र नेपालीले खोजेको रामराज्य स्थापना गर्न प्रहरीका यस्ता सकारात्मक कामलाई समाजले समेत प्रोत्साहन गर्नुको विकल्प छैन । प्रहरीको एउटा निकायले सञ्चालन गरेको उक्त अभियानलाई देशव्यापी बनाउनुको विकल्प छैन । अहिले पनि तराईका विभिन्न जिल्लामा प्रहरीले स्थानीय व्यवसायी तथा उद्योगीलाई धम्की दिने र रकम असुल गर्ने गरेको भन्ने गुनासाहरू आइरहेकाले त्यसतर्फ प्रहरी नेतृत्वको ध्यान जान जरुरी छ । अहिले महानगरीय प्रहरी कार्यालयले चलाएको अभियानलाई देशव्यापी बनाउनुपर्ने देखिन्छ । नेपाल प्रहरीले समुदाय प्रहरीबीच चलाएको अभियानलाई समेत यसमा जोड्नुपर्ने देखिन्छ ।

अब प्रहरी जनताको साथी हो भन्ने भावनालाई व्यवहारमा लागू गराउनुपर्ने देखिन्छ । हिजोको प्रहरी र आजको प्रहरीबीच ठूलो भिन्नता आएको छ । यसलाई प्रहरीको नेतृत्वले कायम राख्न सक्नुपर्दछ । अहिले प्रहरीले जनताको मन जित्न जुन किसिमका सकारात्मक कामलाई अगाडि बढाएको छ यसलाई भविष्यपर्यन्त कायम राख्ने माहोल बनाउन जरुरी छ । नेपाल प्रहरीले बेला–बेलामा विभिन्न कार्यक्रम ल्याउने तर त्यसलाई निरन्तरता दिन नसक्दा प्रहरीमाथि नै प्रश्नचिह्न उठ्ने गरेकाले त्यसलाई ध्यान दिन जरुरी छ । प्रहरीले अहिले घूसविरुद्धको अभियानलाई निरन्तरता दिँदै प्रहरीको धुमिल छबिलाई स्वच्छ बनाउन जरुरी छ । यसतर्फ नियामक निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्