दल बदल्नु स्वार्थ खोज्नु हो



नेपालमा स्वार्थी नेताको बिगबिगी छ। फरक आस्था र विचार राख्ने मानिसबाटै दल फेर्ने प्रवृत्ति बढेको छ। दलहरूका स्वार्थले गर्दा राजनीतिप्रति आमबुझाइ र मान्यता नै नकारात्मक बन्दै गएको छ। जनतामा राजनीतिक चेतना जागृत हुँदै आए पनि दलका कतिपय पात्रका कारण राजनीतिक दलप्रति नै वितृष्णा उत्पन्न हुने गरेको छ। दल परिवर्तन गर्नु भनेको आफ्नो निष्ठा, आदर्श र मूल्य–मान्यतालाई बलिमा चढाउनु हो। आफूले आर्जन गरेको राजनीतिक छविलाई तिलाञ्जली दिनु हो। नेपालमा एउटा दल नै अर्कोमा विलय हुने र एउटा दलमा प्रतिष्ठा बनाएका नै अर्को दलमा रातारात प्रवेश गर्ने प्रवृत्ति नयाँ होइन।

पार्टीमा आफ्नो अस्तित्व नरहेपछि प्रायः त्यस्ता पात्रहरू चटक्क अर्को दलमा विलय हुने गर्छन्। दलहरूले पनि पार्टी प्रवेश गराउनुलाई प्रतिष्ठाको विषय मान्छन्। यस्तो प्रवृत्तिले व्यक्तिको साख गुम्नुका साथै प्रवेश गरेको दलमा पनि विश्वास आर्जन गर्न नसकेका कैयौँ दृष्टान्त छन्। यही भीडमा कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गरेको खबर सार्वजनिक भएको छ। नेकपाको पार्टी कार्यालय, धुमवाराहीमा अध्यक्षद्वयको टीका लगाएर भुसालले आफ्नो आदर्शलाई तिलाञ्जली दिएका छन्।

भुसाल ०४९ सालमा कांग्रेस चितवनको सभापति भई ०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र ०५१ सालको आमनिर्वाचनमा चितवनबाट निर्वाचित भइसकेका नेता हुन्। उनी किन रातारात नेकपा भए रु राजनीतिक वृत्तमा बहसको विषय बनेको छ। भुसालको प्रवेशलाई नेकपाले प्रतिष्ठाको विषय बनाए पनि सांसद भइसकेका उनको राजनीतिक भविष्य अब के होला, त्यो यसै भन्न सकिन्न। नेपालमा जोसुकैलाई कुनै पनि दलमा प्रवेश गर्ने, उसका मूल्य–मान्यता र नीति अंगीकार गर्ने छुट छ। तर, दल फेर्ने कुरा छेपारोले रंग फेरेजस्तो होइन। यसले नागरिकको विश्वास टुट्नुका साथै वितृष्णासमेत पैदा गर्दछ। नेपालमा छेपारे प्रवृत्ति देखाउने व्यक्तिहरू थुप्रै छन्। उदाहरणका लागि विजयकुमार गच्छदारलाई हेर्दा हुन्छ। उनी फोरम लोकतान्त्रिक–कांग्रेस–फोरम हुँदै पुनः कांग्रेसमा प्रवेश गरे। सत्तामा छाइरहन उनले छेपारे प्रवृत्ति देखाए। दल बदल्नेहरू विनास्वार्थ अर्को दलमा प्रवेश गरेको उदाहरण कहीँ–कतै छैन। यस्ता छेपारे प्रवृत्तिले गर्दा नै व्यक्तिले निष्ठा र आदर्शको राजनीति छाड्दै गएको भन्न कत्ति पनि कन्जुस्याइँ गर्नुपर्दैन।

दल फेर्नेहरूको नाम लिँदा चितवनका बद्री तिमिल्सिना छुटाउनै नहुने एकपात्र हुन्। विगतमा राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष रहेका उनी ३१ कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेको इतिहास साक्षी छ। उनी अहिले नेकपाको कुनै भूमिकामा होलान्, तथापि उनको प्रवेशले चितवनमा प्रोपोगान्डाबाहेक कुनै सन्देश दिएन। चितवनमा हिजो तिमिल्सिनाको छवि र ओज कस्तो थियो त्यो भनिरहनुपर्दैन। चितवनमा सम्मानजनक र अभिभावकका रूपमा स्थापित उनको ओज आज लगभग समाप्त भइसकेको छ। उनले दल फेर्दा व्यक्तिगतरूपमा लाभ–हानि बेहोरे वा बेहोरेनन्, तर उनलाई राजनीतिक गुरु मान्नेहरू र आदर्शवान् नेता ठान्नेहरूको भने विश्वासमा डढेलो लागेको छ।

आममानिस शक्तिको पछाडि नै झुम्मिन्छन्। आफूले आस्था र विश्वास गरेको दल कमजोर भएको अनुभूति गरेर भुसालजस्ता पात्रहरूले दल फेरेर स्वार्थको खेती गरिरहेका छन्। भुसाललाई दशकौँदेखिको आफ्नो आदर्श च्यूत गराउने कुन आकर्षण र माहोलले प्रभाव पा¥यो, त्यो खुल्न सकेको छैन। अवसर र क्षणिक लाभका लागि आफ्नो आदर्शबाट विचलित हुने प्रवृत्ति भने घातक हुन्छ। यस्तो राजनीतिक विचलनले अवसरवादी चरित्र निर्माण गर्छ, जुन समाज र राष्ट्रकै लागि घातक हो। व्यक्ति विशेषका सवालमा पनि यस्तो प्रवृत्ति अन्ततः अभिशाप नै बन्नेमा द्विविधा छैन।”
– सरोज न्यौपाले चितवन।

प्रतिक्रिया दिनुहोस्