एक्सन र कट मात्र भन्ने निर्देशकको नाम किन राख्ने ? ः दीपशिखा खड्का



नायिका दीपशिखा खड्का पनि निर्मात्री भएकी छिन्। उनीद्वारा लिखित तथा निर्मित फिल्म यही फागुन महिनामा रिलिज हुँदै छ।केही दिनअघि सार्वजनिक अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा उनको दुई रूप देखिएको छ। फिल्मकै लागि आफ्नो कपाल मुण्डन गरेकी दीपशिखालाई ट्रेलरमा नायक अली खानबीचको मिलन बिछोडलाई प्रमुखरूपमा प्रस्तुत गरिएको छ। एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीका रूपमा देखिएकी छिन् भने अर्कोतिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन्। फिल्ममा महेश खड्का, नवीन कार्की र विराज शाहको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ भने दीपशिखा, अली र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्विंकल श्रीवास्तवलगायतले अभिनय गरेका छन्। दीपशिखासँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छ ः
रश्मी थापा
नेपालमा नै यति धेरै कलाकार हुनुहुन्छ तर तपाईंले त भारतीय कलाकारलाई लिनुभयो, किन ?
ट्रेलर हेर्दा नै यसको जवाफ पाइन्छ। फिल्म प्रेमलीला अन्तर्देशीय प्रेम कथामा आधारित छ। यसमा भारतीय कलाकार राख्दा नेचुरल लाग्ने भएकाले नै भारतीय कालकार राखिएको हो। यो कथाकै माग हो। कथाको मागअनुसार फिल्ममा नेपालीसँगै भारतीय कलाकार पनि राखिएको हो।

फिल्मको ट्रेलरमा त निर्देशकको नाम छैन नि ?
फिल्मको निर्देशकका रूपमा काम गरिरहनुभएका जनक पाण्डे केही समय अघिदेखि लापत्ता हुनुहुन्छ। पहिले उहाँको र मेरो फिप्टी फिप्टी पर्सेन्ट लगानी हुने भन्ने सहमतीअनुसार फिल्म सुटिङ फ्लोरमा गयो। शुरूमा मैले आफ्नो पैसाबाट आर्टिस्ट पेमेन्टदेखि धेरै काम गरें। उहाँले पछि पैसा हाल्ने भन्ने कुरा भयो। जब फिल्मको ७० पर्सेन्ट जति काम सकियो, उहाँले पैसा निकाल्न सक्नुभएन। त्यसो भएपछि मैले माग्नु त प¥यो। उहाँले २/४ दिनपछि भन्न थाल्नुभयो।

मैले पैसा म्यानेज गर्दै काम गरें। तर उहाँ एक्कासि हराउनुभयो। उहाँ रुम पनि सरिसक्नुभएछ। यसबारे मैले नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र निर्माता संघमा पनि निवेदन दिएँ। तर उहाँ बेपत्ता हुनुहुन्छ। फिल्मको बाँकी काम मैले आफै गरें। यसमा धेरै जनाले सपोर्ट गर्नुभयो। निर्देशक भएपछि धेरै जिम्मेवारी हुन्छ। पोस्ट प्रोडक्सन इडिटिङदेखि लिएर धेरै काम हुन्छन्। एक्सन र कट मात्र भन्ने व्यक्तिको नाम किन फिल्ममा राख्ने भनेर निर्देशकको नाम नराखेको हो।

फिल्मको बाँकी काम आफैले गर्नुभयो। अब अर्को फिल्ममा फुल निर्देशन गर्ने विचार छ ?
हालै मैले अर्को एक मुभीमा एक्ट्रेसका लागि साइन गरेको छु। प्रेमलीला रिलिज नभई मैले नाम भन्न मिल्दैन। त्यस कारण तुरुन्तै त फिल्म निर्देशन गर्ने सोच छैन। प्रेमलीलाको बाँकी काम गर्दा मैले धेरै सपोर्ट पाएँ र काम गर्दै जाँदा निर्देशन गर्न सक्ने कन्फिडेन्ट पनि बढ्दै गएको छ। तत्कालै निर्देशन नगरे पनि पछि गर्न पनि सक्छु।

तपाईंको सञ्चालनमा रहेको दीपशिखा फाउन्डेसनले चाहिँ केके काम गरिरहेको छ ?
हालै त खासै केही काम गरिरहेको छैन। म फिल्ममा व्यस्त हुने र विजनेसलाई पनि टाइम दिनुपर्ने भएकाले फाउन्डेसनतिर टाइम दिन सकेको छैन। यसभन्दा अघि बच्चाहरूको पढाइमा सहयोग गर्ने एक घर एक ब्लाङ्केट वितरण गर्ने, कलाकार लक्ष्मी राणा बचाऊ अभियानमा सहयोग गर्नेलगायत धेरै कामहरू गरेको छु। यसबाट अझै धेरै कामहरू हुनेछन्।

अहिले कलाकारहरूले आफ्नो नाममा फाउन्डेसन खोल्नु भनेको फेसनजस्तै बनेको छ, तपाईं के भन्नुहुन्छ ?
मेरो कुरा गर्नुपर्दा म कलाकारितामा आउनुभन्दा अघि नै मैले फाउन्डेसन खोलेको हो। मेरो फाउन्डेसन ५ वर्ष बढी भइसकेको छ। मैले चाहिँ फेसनको रूपमा नभई सामाजिक सेवा गर्ने उद्देश्यले खोलेकी हुँ। अरूको कुरा थाहा छैन। तर कुनै पनि कलाकारले सामाजिक सेवाको उद्देश्यले फाउन्डेसन खोल्नु भनेको राम्रो कुरा हो नि।

प्रतिक्रिया दिनुहोस्