एकल महिला सञ्जालको अध्यक्षमा पुन



धनवीर दाहाल, रुकुम ।
एकल महिला जिल्ला सञ्जाल रुकुमको अध्यक्षमा सीता पुन निर्वाचित हुनुभएको छ । सञ्जालको दोस्रो अधिवेशनले उहाँको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा लालकुमारी खड्का, सचिवमा निर्मला विष्ट खड्का, सहसचिवमा पार्वती नेपाली र कोषाध्यक्षमा चन्द्रकला विक निर्वाचित हुनुभएको छ । यसअघि सिंगो रुकुममा कार्यक्षेत्र रहेको सञ्जालले अब विधान संशोधन गरेर रुकुम पश्चिममा मात्र काम गर्ने बताइएको छ ।

रुकुम पूर्वमा एकल महिलाको अधिकारका लागि काम गर्न नयाँ सञ्जाल निर्माण गरिने निवर्तमान अध्यक्ष विष्णु देवकोटाले बताउनुभयो । नयाँ संरचना बनेपछि स्थानीय तहहरुसँग समन्वय गर्न समस्या भएको भन्दै आगामी दिनमा पालिका स्तरमा पनि सञ्जाल निर्माण गरेर एकल महिलाहरुका लागि विभिन्न क्रियाकलाप गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सीता पुनले बताउनुभयो । आर्थिक समस्याले गर्दा आफूहरुले पैसा उठाएर अधिवेशन गरेको भन्दै सहयोगका लागि सरोकारवालाहरुलाई आह्वान समेत गरिएको छ ।

अधिवेशनमा समेत केही सहयोग होस् भनेर मुसिकोट नगरपालिकाको सहयोगमा एक अन्तक्र्रिया कार्यक्रम समेत गरिएको थियो । अन्तक्र्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले एकल महिलाहरुको लागि बजेट व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सञ्जाललाई यहाँसम्म ल्याउन आफूहरुले गरेको मेहनतलाई भूल्न नहुनेमा सञ्जालका संस्थापक अध्यक्ष ज्ञानु विसीले बताउनुभयो । सञ्जाल मार्फत अहिलेसम्म एकल महिलाहरुको सशक्तिकरणका लागि स्थानीय तहसम्म प्रभावकारी काम भएको भन्दै आगामी दिनमा मनोपरामर्श, कानुनी सचेतना, आयआर्जन र स्वरोजगार सिर्जना गर्ने काम गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्