भारी हिमपातका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित



राम धामी, डडेल्धुरा ।
अविरल बर्षासँगै भारी हिमपात भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी त्था हिमाली जिल्लाका बासिन्दाहरुको जनजीवन प्रभावित भएकोछ ।
सोमबार बेलुकी देखि अविरल बर्षा भएसँगै मंगलबार बिहान २ बजेदेखि डडेल्धुरा सदरमुकामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । महाभारत पर्वत श्रृँखलामा भएको भारी हिमपातका कारण सोमबार देखिनै रात्रीकालिन यातयात सेवा प्रभावित भएको र मंगलबार समेत यातायात सेवा दिनभर प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

भिमदत्त राजमार्गको हगुल्टे महाभारत क्षेत्रमा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको हो । मंगलबार बिहानै देखि यातायात सेवा सुचारु गर्न पहल गरिएको भए पनि हिमपात जारी रहेकाले यातायात सेवा सुचारु गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएकोछ । यातायात सेवा प्रभावित हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन ।

डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरु बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका बिभिन्न पहाडी क्षेत्रमा सोमबार रात्री देखि भारी हिमपात भइरहेको छ । बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको तापक्रमा ७ डिग्री तल झरेको छ । हिमाली गाउँपालिकाको साबिकको बिच्छायामा सबैभन्दा बढि हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यसैगरि अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ विसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका बिभिन्न स्थानमा हिमपातले असर परेको छ । मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दार्चुला जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रहरुमा भारी हिमपात भएको छ । बैतडीको खोडपे, गोठलापानी, सतबाझ लगायतका बजार क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन । अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी बताउछन ।

 

प्रतिक्रिया दिनुहोस्