प्रभावकारी प्रसुती सेवाका लागि सरोकारवालाहरुको लिखित प्रतिबद्धता



धनवीर दाहाल, रुकुम ।
सरकारले सबै स्वास्थ्य चौकीहरुमा सुरक्षित सुत्केरी बनाउन सकिने बर्थिंङ्ग सेन्टरको व्यवस्था गरिने घोषणा गरेपनि रुकुम पश्चिमका बिकट ठाँउमा बर्थिंङ्ग सेन्टर नभएपछि समस्या भएको भनि बारम्वार समाचार प्रकाशन भएपछि सरोकारवालाहरुको ध्यान आर्कषण भएको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका प्रसुती गृहहरुको सेवालाई प्रभावकारी बनाएर आमा र बच्चाको सुरक्षा गर्नका लागि रुकुम पश्चिमका सरोकारवालाहरुले लिखित प्रतिवद्धता दिएका हुन् ।

जिल्ला सदरमुकाम मुसीकोटमा मंगलबार हरप्लेस नेपालद्धारा आयोजना गरिएकोे साझा सभामा जिल्लाभर रहेका कुल १९ वटा प्रसुती गहृको सेवा प्रभावकारी हुन नक्नुका कारणका बारेमा छलफल गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले १९ वटा प्रसुती गहृहरु मध्ये १७ वटाको आफ्नै भवन रहेको र बाँकी २ वटा प्रसुती गृह स्वास्थ्य संस्थाको भवनबाटै संञ्चालन भएको बताउनुभएको थियो ।

साथै ओलीले प्रसुती गहृहरुमा विजुली, पानी, स्टेचर जस्ता आधारभुत सामाग्रीको समेत व्यवस्था हुन नसकेको कुरा कार्यक्रममा राखेका थिए । साथै उनले प्रसुती गृहमा आर्थीक अभाव र जनशक्तिको व्यवस्थापन हुन नसकेको कुरा समेत बताएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका तर्फबाट ओलीले प्रसुती गहृहरुको अवस्थाको बारेमा प्रकाश पारेपछि छलफलका क्रममा सरोकारवालाहरुले पनि भौतीक व्यवस्थापन, आर्थीक अभावका साथै जनचेतना अभिवृद्धी तथा आधारभुत सरसफाईका जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले प्रसुतिगृहको भौतिक व्यवस्थापन र अत्यावश्यक सामाग्रीका लागि सम्बन्धित स्थानीय तहहरुले उचित बजेट व्यवस्थापन गर्ने, स्थानीय तहबाट नपुग बजेटका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने, स्वास्थ्य संस्था, कार्यरत कर्मचारी र सेवाग्राहीको समेत व्यवहार परिवर्तनका लागि सचेतना अभिबृद्धिलाई स्थानीय तह र नागरिक समाजका संघ संस्थाहरुले जोड दिने र प्रसुति गृहको आधारभूत सरसफाई, कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षा, समयको पालना लगायतका विषयमा कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहले निर्देशन गर्ने भनेर तिन बुदामा लिखित प्रतिद्धता जाहेर गरेका छन् ।

पेउघा स्वास्थ्य चौकीका साथै गरायला स्वास्थ्य चौकी,पिपल स्वास्थ्य चौकी, स्वास्थ्य चौकी खहरे, चौखाबाङ्ग स्वास्थ्य चौकी र आठबिसडाँडागाँउ स्वास्थ्य चौकीमा समेत बर्थिंङ्ग सेन्टर नभएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका फोकल व्यक्ति बिष्णु बहादुर बुढाथोकीले बताउनुभयो । अन्य १९ ठाँउमा बर्थिंङ्ग सेन्टर भएपनि जनशक्तिको अभाव भएको डक्टर शुसिल पोखरेलले बताउनुभयो ।

मुसिकोट, साँख, भलाक्चा, खारा, मुरु, सिम्रुतु, खोलागाँउ, नुवाकोट, कोटजहारी, पुर्तिमकाँडा, सिम्ली, घेत्मा, आठबिसकोट, गोतामकोट, स्यालाखदी, मग्मा, झुला, दुली र बाँफिकोट मा बर्थिंङ्ग सेन्टर छन तर दुई जना तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी हुनुपर्नेमा एक जनाले मात्र काम चलाइरहेका छन् । बर्थिंङ्ग सेन्टरमा चौबिसै घण्टा दक्ष स्वास्थ्यकर्मी खट्नुपर्ने हुन्छ तर एक जना मात्र भएकोले चौबिस घण्टा खट्न सकिरहेका छैनन् ।

यस्तै बिद्युतको अभाव र अन्य बैकल्पीक व्यवस्था नहुँदा निर्मलीकरण गर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । तालिम लिएर आएका स्वास्थ्यकर्मी पनि दुर्गम भन्दै तुरुन्तै सरुवा हुने गरेको फोकल व्यक्ति बुढाथोकी बताउनुहुन्छ । बुढाथोकीका अनुसार अपरेसन चौरजहारी अस्पताल र जिल्ला अस्पतालमा हुन्छ भने अरु बर्थिंङ्ग सेन्टर भएका स्वास्थ्य चौकीमा सुत्केरी मात्र गराइने गरिएको छ ।

स्थानीयले गाँउमा यस्तो अवस्था सम्म स्थानीय सरकार तथा अन्य सरोकारवालाले चासो नदिएको गुनासो गरेका छन् । जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले स्थानीय तहलाई सुरक्षित बर्थिंङ्ग सेन्टर व्यवस्थाका लागी समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्रिबेणी गाँउपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रलाई आफुहरुले पहिलो प्राथमिकता राखेको बताउनुभयो । कर्णाली प्रदेश सांसद रातो कामीले कर्णाली प्रदेशको संसदमा रुकुमको स्वास्थ्यको समस्या समाधान बारे कुरा राख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्