गाउँघरदेखि शहरबजारसम्म नौमती बाजाको माग बढ्दो



नेपाल समाचारपत्र, पर्वत ।
फलेवास नगरपालिका–३ शंकरपोखरीको मैदानमा रहेको नौमती बाजा टोलीलाई यति बेला भेट्न जाने हो भेट्न मुस्किल हुन्छ।
मोबाइल फोनमा सम्पर्क गर्दा नौमती बजिरहेको आवाज मात्र सुनिन्छ। जिल्लामा नौमतीबाजा प्रतियोगिता आयोजना हुँदा धेरै पटक बिजेता बनेको मैदानको नौमती टोलीलाई भ्याइनभ्याइ छ।

पर्वतमा उहिलेजस्तो सजिलै नौमती बजाउनेहरु पाउन मुस्किल छ। परियारहरुको बसोवास रहेको ठाउँमा केही वर्ष पहिलेसम्म नौमती बजाउन जान्नेहरु सजिलै भेटिन्थे। तर पछिल्लो समय विभिन्न कारणले बाजाहरु बेचेर उनीहरु अन्य पेशामा लागेकाले थोरै संख्यामा रहेका पञ्चेबाजाका टोलीलाई भने भ्याइनभ्याइ भएको छ।

मैदानका नारायण परियार भन्छन्, ‘हामीलाई बाह्रै महिना भ्याइनभ्याइ छ।’ विवाहबाहेक अरु कर्मकाण्डमा पनि बजाउन बोलाउँछन्। बेरोजगार भएँ भनेर बस्नु परेको छैन।’ मैदानको उक्त टोलीले एउटा विवाह वा चौरासी पूराजस्ता कार्यमा बाजा बजाएको २० देखि २५ हजार रुपैयाँ लिने गरेको छ। यस टोलीको फलेवासका साथै कुश्मा नगरपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका र स्याङजाका केही क्षेत्रमा समेत माग हुने गरेको छ।

माग धेरै भएपछि उक्त टोलीका सदस्यहरुले आप्mना सन्तानहरुलाई बिहान–बेलुका बाजा बजाउने प्रशिक्षण नै दिइरहेका छन्। स्थानीय राम माविको कक्षा ९ मा अध्ययनरत विवेक परियारले दिउँसोमा विद्यालय जाने र बिहान–बेलुका बाजा बजाउन सिक्ने गरेको बताए।

विद्यालय बिदा भएको दिन अभिभावकहरुसँगै व्यवसायिक रुपमै बाजा बजाउन हिँड्ने गरेका छन्। संघसंस्था, सहकारी, क्लब र आमा समूहले आयोजना गरेका सभा, महोत्सव, सम्मेलनदेखि सांसद, मन्त्रीलगायतको स्वागतमा पनि नौमती बजाएर स्वागत गर्ने प्रचलन छ। शंकरपोखरीकै पुर्कोटमा रहेको नौमती टोली केही वर्षअघिसम्म मैदानकै टोलीजस्तै धेरै ठाउँमा पुग्ने गरेको थियो।

तर पछिल्लो पुस्ताले यसमा खासै चासो नदेखाउनु, युवाहरु पढाइमा केन्द्रित हुनु, वैदेशिक राजगारीमा जानेलगायतका कारण टोली निस्क्रिय भएको छ। ‘केही वर्षअघिसम्म हाम्रो टोली धेरै ठाउँमा पुग्ने गरेको थियो। अहिले गाउँमा एउटो बाजो नि भेटिन्न,’ टोलीका सदस्य दलबहादुर दर्जीले भने, ‘बाजाहरु पनि हराए, बजाउन जान्ने मान्छे कोही मरेर गए, कोही विदेश गए। अहिलेका भाइछोराहरुले सिकेका छैनन्।’ पुर्कोटजस्तै कटुवाचौपारी, दुर्लुङ, महाशीला, पैयूँ, बिहादीलगायतका ठाउँमा यसअघि रहेका धैरै वटा नौमती टोली अहिले अस्तित्वमा छैनन्।

त्यसैले भएका केही टोलीले राम्रो आम्दानी गरिरहेका छन्। ‘अहिले एक दिनको लगभग २५ देखि ३० हजार रुपैयाँ लिन्छौँ,’ महाशीला गाउँपालिका, पाखापानीका पूर्णबहादुर परियार भन्छन, ‘एक टोलीमा ८÷१० जना हुन्छौँ। आएको पैसा बराबर बाँड्ने हो। कमाई राम्रै छ।’

प्रतिक्रिया दिनुहोस्