भूपु सैनिकको पूँजि पलायन रोक्नुपर्छ – महरा



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बेलायतमा कार्यरत भूतपूर्व सैनिकको पुँजी पलायन रोक्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।

भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल तथा ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायतले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सभामुख महराले ब्रिटिश गोर्खाले गरेको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो । ‘उहाँहरुले बेलायत गएर धेरै श्रम गर्नुभएको छ त्यसको सम्मान हुनुपर्छ र उहाँहरुले आर्जन गरेको पुँजी पलायन हुन नदिन नेपालमै लगानीको वातावरण बनाउनुपर्छ ’ महराले भन्नुभयो । महराले ब्रिटिश गोर्खाको पक्षमा नेपाल सरकारले अडान लिनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मर्मलाई मान्दै नागरिकताको निरन्तरताको विषयमा उचित पहल गरिने बताउनुभयो ।

संसदको संसदीय समितिमा नागरिकता विधेयकबारे छलफल भइरहेको बेला ब्रिटिश गोर्खा भूपू सैनिकहरुले नेपाली नागरिकताको निरन्तरता तथा उनीहरुबाट सम्भावित पुँजी पलायनबारे सभामुख, संसदीय समितिका सभापति तथा सांसदहरुसँग जानकारी गराएका हुन् । कार्यक्रममा उनीहरुले आफ्ना सन्तानहरुले पनि नेपाली नागरिकता पाउनुपर्ने माग राखेका थिए । कल्याणकारी समितिका अध्यक्ष यमबहादुर बुढाथोकीले नेपालमै बस्ने आफूहरुको चाहना भएको हुनाले त्यो वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको थियो ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले सन् १९४७ मा नेपाल , भारत र बेलायतबीच भएको त्रीपक्षीय सन्धीकै आधारमा नेपालीले बेलायतमा सम्मानार्थ नागरिकता पाएको बताउनुभयो । उहाँले भूपू सैनिकहरु र गैह्र आवासीय नेपाली (एन्आर्एन्) लाई एकै प्रकारले हेर्न नहुने बताउनुभयो । कार्यक्रममा बालकृष्ण माबुहाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि सन् १८९६ को सुगौली सन्धीमार्फत नेपालीहरु ब्रिटिश गोर्खामा भर्ती भएका थिए ।

प्रतिक्रिया दिनुहोस्