छात्रा लक्षित आत्मरक्षा तालिम



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर आत्मरक्षा तालिम शुरु गरिएको छ ।

साहसी अभियान अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको हो । छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न साहसिक प्रशिक्षण अभियानलाई शुरु गरिएको हो ।यसअघि चितवन र नवलपरासीमा अभियान सम्पन्न गरी आइतबारदेखि त्रिजुद्ध माध्यमिक विद्यालयमा औपचारिक उद्घाटन गरेर विद्यालयको प्रांगणमा प्रशिक्षक प्रशिक्षण सुरु गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आत्मविश्वास बढाउन बलियो शरीर, तेजिलो दिमाग, राम्रो सामाजिक सम्बन्ध र संवेगात्मक कुराहरुमा नियन्त्रण जरुरी रहेको बताए । सेल्फ डिफेन्सको बारेमा जानकारी भएपछि ढुक्कले हिँडडुल गर्न सकिने उनको भनाइ रहेको थियो ।प्रदेश नं २ को ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक किरण बज्रचार्यले महिलाहरुले गर्ने सानो–सानो लापरबाहीको कारण ठूला दुर्घटना हुन पुग्ने भएकोले तालिम लाझदायक हुने विश्वास व्यक्त गरिन् ।

कार्यत्रममा प्रहरी उपरीक्षक रेवती ढकाल, प्राध्यापक डा. दिपक शाक्य लगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएकोले कहिल्यैपनि आफूलाई कमजोर छु भनेर नसोच्न आग्रह गरेका थिए ।तालिममा सहभागी ५० जना छात्राहरुले प्रशिक्षण सम्पन्न भएपछि वीरगञ्जका विभिन्न विद्यालयमा कक्षा ७ देखि ९ सम्म अध्ययनरत अन्य छात्राहरुलाई सेल्फ डिफेन्स सम्बन्धि टेकनीकहरु सिकाउन आग्रह गरिएको थियो ।

महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन साहसी अभियान सुरु गरिएको कार्यक्रम संयोजक डा. सुष्मा तिवारीले जानकारी दिइन् ।संयोजक तिवारीले अहिलेको अवस्थामा महिला हिंसा तथा महिला दुर्व्यवहारको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुर्व्यबहारको घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले मिसन साहसी अभियान सञ्चालन गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्