कालो धन छानबिन होस्



खोज पत्रकारिता केन्द्र (खोपके)ले अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र (आईसीआईजे)सँगको सहकार्यमा एक वर्षसम्म अनुसन्धान गरेर नेपालीले विदेशी बैंकमा राखेको कालो धनको खुलासा गरेको छ । ‘नेपाल लिक्स–२०१९’ मा नेपालीले विदेशी बैंकमा राखेको स्रोत नखुलेको रकम र वैदेशिक लगानीका नामबाट नेपालमा आएको ‘ट्याक्स हेवन’को रकमबारे विस्तृत विवरण उल्लेख गरिएको छ ।

खोज पत्रकारिता केन्द्रले स्वीस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड ८ लाख २१ हजार स्वीस फ्यांक अर्थात् ५२ अर्ब ७ करोड २७ लाखभन्दा बढी नेपाली रकम रहेको खुलासा गरेको छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले विदेशमा नेपालीलाई लगानी गर्न रोक लगाएको छ । तर, कानुनी व्यवस्था विपरीत प्राध्यापकदेखि, डाक्टर, पूर्वसांसद, नेता र चर्चामै नआएका व्यक्तिहरुले विदेशमा अवैध सम्पत्ति थुपारेका छन् ।

आईसीआईजेले उपलब्ध गराएको विवरणका आधारमा ५५ नेपालीको लगानी फेला परे पनि विदेशी बैंकहरुमा नेपालीका कालो धन कति छ त्यो रहस्यको गर्भमै लुकेको छ । विदेशमा लगानी गर्नेहरुमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी र व्यवसायीदेखि गुमनामहरुसमेत छन् ।

यसअघि करछलीका लागि अनुकूल देश (ट्याक्स हेभन)मा नेपालीका गैरकानुनी सम्पत्ति राखिएको विषयमा चर्चा चलेको थियो । कतिपय गैरआवासीय नेपालीले विदेशमा ट्याक्स हेभनमा कम्पनी खोलेर लगानी गरेको देखिए पनि विदेशी लगानी भित्र्याउने नाममा आफ्नै गैरकानुनी सम्पत्ति शुद्धीकरण गर्ने प्रयास पनि भइरहेको पाइएको छ । ट्याक्स हेभनमा लगानी गर्ने हेटौंडाका अजयराज सुमार्गीको नाम पछिल्लो समय चर्चामा छ । पछिल्लो समय सुमार्गीले विदेशी लगानी भित्र्याउने नाममा ६ खर्ब ३१ करोड ८५ लाखभन्दा बढी रकम नेपाल भित्र्याएका छन् । साइप्रसस्थित एयरबेल सर्भिसेज लिमिटेडमा उनले लगानी गरेको देखिएको छ ।

नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा नेपालमा भित्र्याएको रकम बैंकबाट निकालेपछि सर्वोच्चले फिर्ता आदेश दिएको छ । सुमार्गीको अवैध रकम फिर्ता गर्न राष्ट्र बैंकले पनि तारताकेता गरिरहेको छ । नेपालमा सशस्त्र द्वन्द्वकालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेकोमा त्यसको दश वर्षको अवधिमा २७ अर्ब १५ करोड बढी रकम स्वीस बैंकमा लुकाएको देखिएको छ । अहिले नेपालीको करिब ३६ अर्ब रुपियाँ स्वीस बैंकमा बचत रहेको खोपकेको अनुसन्धानले देखाएको छ ।

कानुन छलेर देशभित्रै वा बाहिर रहेको कालो धन अध्ययन गर्न सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको थियो । तर विडम्बना ! विभाग गठन भएको १२ वर्ष भइसक्दा पनि नेपालीले स्वीस बैंकमा पैसा लुकाउने शृङ्खला रोकिएको छैन । विभाग गठनपछि नेपालीले करिब २५ अर्ब रूपियाँ स्वीस बैंकमा पु¥याएका छन् । अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयको मातहतमा छ । नेपाल लिक्सले यति गम्भीर विषय उजागर गरे पनि विदेशी बैंकमा राखिएका करछली र स्रोत नखुलेका रकमबारे सरकारको ध्यानाकर्षण नहुनु अर्को विडम्बनाको विषय हो ।

शून्य सहनशीलताको नीति अख्तियार गरेको सरकारले विदेशी लगानी भित्र्याउने नाममा अवैध सम्पत्ति आउने गरेको विषयमा पनि गम्भीरता देखाएको पाइँदैन । नेपालीले गैरकानुनी आर्जन लुकाउन ट्याक्स हेभनमा लगानी गर्ने गरिएको कुरा यसअघि सार्वजनिक ‘पानामा पेपर्स’को विवरणले पनि पुष्टि गरिसकेको छ । नेपालमा कर छली गर्ने कम्पनीदेखि व्यवसायीसम्मले अवैधरुपमा विदेशी बैंकमा लुकाएको कालो धन सरकारले अविलम्ब छानबिन गर्नुपर्छ । शंकास्पद व्यक्ति र संस्थाको बैंक खाता रोकेर अवैध सम्पत्ति जफत गर्न सरकारले ढिलाइ गर्नुहुँदैन । नेपाल लिक्सको खोजका विषयमा संसद्ले पनि चर्को दबाब दिनु जरुरी देखिएको छ ।
– विष्णु डाँगी, बल्खु ।

भूकम्प सुरक्षा कार्यक्रम आवश्यक
धर्तीभित्रको हलचलका कारण आउने भूकम्प त रोक्न सकिने कुरा भएन, तर धर्तीमाथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति भने न्यून गराउन सकिन्छ । त्यही भएर जनमानसमा सचेतना जगाउन वि.सं. २०५५ देखि राज्यबाटै माघ २ मा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । त्यस बेलादेखि नेपालमा दिवस मनाउँदै आए पनि नागरिकमा भूकम्पकबाट सुरक्षित हुन चेतना बढेको पाइँदैन । हाम्रो देश भूकम्पको जोखिम क्षेत्रमा पर्छ । तलबाट इन्डियन प्लेट र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानबीचमा नेपाल छ । त्यसैले पनि भूकम्पको पूर्वतयारीका लागि गम्भीर बन्न जरुरी छ ।

वि.सं. २०७२ मा गएको भूकम्पले ९ हजारभन्दा बढीको ज्यान लगेको थियो । भूकम्पलाई हामी रोक्न सक्दैनौँ तर त्यसले पु¥याउने क्षतिलाई भने अवश्य पनि कम गर्न सक्छौँ । १९९० सालमा गएको महाभूकम्पपश्चात् पनि भूकम्पको सुरक्षा सवालमा राज्य गम्भीर बन्न नसक्दा ठूलो मानवीय एवं भौतिक क्षति देशले २०७२ मा भोग्नुप¥यो ।

हामीमा चेतना र अध्ययनको कमी छ । भएकै अध्ययनहरु पनि चेतनाका कमीका कारण आममानिससम्म पु¥याउन सकेका छैनौं । यो कुरा हाम्रो आफ्नै सीमितता र बाध्यताका कारण प्राथमिकतामा पनि पर्न सकेको छैन । अतः हामीमध्ये कतिमा चेतना छैन भने कतिमा चाहिँ क्षमता र प्रविधिको जानकारी छैन । त्यसैले नागरिकमा भूकम्पबाट कसरी बच्ने, भौतिक निर्माणमा के–कस्ता मापदण्डहरुलाई प्राथमिकता दिनेलगायत भूकम्पबाट बच्न सक्ने सावधानीसम्बन्धी चेतना बढाउन सम्बन्धित निकाय अग्रसर हुनुपर्छ । अन्यथा, आगामी दिनमा पनि भूकम्प गइहालेमा ठूलो मानवीय एवं भौतिक क्षति नहोला भन्न सकिन्न । अतः भूकम्पबाट सुरक्षित हुने पूर्वतयारीका लागि राज्य गम्भीर बन्नुपर्छ ।
– नवीन श्रेष्ठ, काठमाडौं ।

प्रविधिको प्रयोग बढाऔं, दुरुपयोग घटाऔं
अहिलेको युग भनेको प्रविधिको युग हो । नयाँ सोचले नयाँ प्रविधिलाई जन्म दिन्छ । प्रविधिले मानवजातिलाई सजिलो बनाउँछ । नेपालजस्तो विकासशील राष्ट्रमा नयाँ प्रविधि भित्रनु सुखद कुरा हो । तर, प्रविधिलाई प्रयोगमा ल्याउँदा कानुनले अवरोध सिर्जना गर्नु भनेको दुःखद हो । हालै काठमाडौँमा केही युवाको समूहले ल्याएको नयाँ प्रयोगमाथि कार्वाही शुरु भएको छ । निजी प्रयोजनको लागि प्रयोग हुँदै आएको सवारीसाधन (दुईपांग्रे) लाई सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दै शुल्क लिफ्ट सेवा दिँदै आएको छ ।

तर, यातायात व्यवस्थासम्बन्धी ऐनमा निजी प्रयोजनमा दर्ता भएका सवारीलाई भाडामा चलाउन नपाइने कानुनी व्यवस्था छ । नयाँ प्रविधिले यात्रुहरुलाई सजिलो मात्र गराएको थिएन यात्रा सुलभ पनि बनाएको थियो । ट्याक्सी मिटरमा नजाने र चर्को शुल्क लिने हुँदा यात्रुहरुले यसलाई वैकल्पिक रुपमा लिएका थिए ।

हजारौँको संख्यामा रहेका बेरोजगार युवाका लागि पनि उक्त प्रविधि रोजगारको गतिलो माध्यम बनिरहेको छ । नयाँ प्रयोगलाई बन्द गर्नेभन्दा पनि प्रविधिलाई कसरी प्रयोगमा ल्याउने भन्ने मुख्य कुरा हो । नयाँ प्रविधिलाई बन्द गराएर कानुनको सुरक्षा मात्र गर्नुभन्दा पनि समय र आवश्यकताअनुसार त्यस्ता कानुनलाई परिमार्जन गर्न जरुरी छ । तसर्थ, राजधानीमा भित्रिएको नयाँ प्रविधिलाई बन्द गर्ने भन्दा पनि कसरी प्रयोगमा ल्याउने भन्नेतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने बेला आएको छ ।
– सरिता खनाल, धादिङ ।

प्रतिक्रिया दिनुहोस्