मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाली सेना विजयी



रामधन राई, खोटाङ ।
खोटाङमा आयोजित नेपाली सेना र जिल्ला खेलकूद विकास समितिवीचको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा नेपाली सेना विजयी भएको छ ।

नेपाली सेनाको शेरगण मुडे ब्यारेक र जिल्ला खेलकुद विकास समिति खोटाङबीच दिक्तेलस्थित मुडे ब्यारेकमा मङ्गलबार आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिलाई २६–२४, २५–२१, २१–२५ र २५–१८ ले पछि पार्दै शेरगण विजयी भएको हो ।

नेपाली सेनाको भिजन २०३० अन्तरगत सेनाको सागठानिक संस्था र व्यवस्थापनलाई सन्तुलित र प्रभावकारी बनाउने उद्देश्य अनुरुप जिल्ला खेलकुद विकास समिति र नेपाली सेनाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको गणपति डम्बरबहादुर आलेमगरले बताउनुभयो ।

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले शेरगणले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाली सेना र स्थानीयवासीबीचको आपसी सत्भावलाई अझ प्रगाढ बनाएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका तर्फबाट आगामी फागुनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट छनौट गरिएका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी जिल्ला खेलकुद विकास समितिका खेलाडीलाई शेरगण मुडे ब्यारेकले दुई वटा भलिबल उपहार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्