फिक्कलमा कला शिविर



ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृंखला देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्याउने उद्देश्यसहित फिक्कल कला शिविर–२०७५ सम्पन्न गरिएको छ।

फिक्कल गाउँपालिकाद्वारा पुस २८ गतेदेखि माघ ३ गतेसम्म आयोजित ६ दिने फिक्कल कला शिविरमा ६ जना कलाकारको सहभागिता रहेको थियो। फिक्कल कला शिवर २०७५ का संयोजक दीपक श्रेष्ठका अनुसार कला शिवरमा अंशुराम खाइजु, मंगल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो। कलाकारहरूले फिक्कलबाट देखिने हिमशृंखला, ग्रामीण बस्तीका दृश्य, सुनकोशी जलयात्रालगायत २३ थान चित्रकला तयार पारेका छन्।

फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार चित्रकलाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप फिक्कलका गाउँ–गाउँमा पुगेर कलाकारले चित्रकला तयार पारेका थिए। कला शिविरमा तयार पारिएका चित्रकलालाई प्रथम फिक्कल महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ। महोत्सव संयोजकसमेत रहेका उपाध्यक्ष सुनुवारका अनुसार समुद्री सतहबाट २ हजार २ सय ६८ मिटर उचाइमा रहेको फिक्कल टाकुराबाट सगरमाथालगायत हिमशृंखलालाई देख्न सकिन्छ।

सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवद्र्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भने– ‘आकाश खुलेको बेला तराईका भू–भाग स्पष्ट देख्न सकिन्छ। सूर्योदय र सूर्यास्तको लोन्ली भ्यू गज्जबको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्