जिउन खोज्यो जिउनै गाह्रो



अपांगता भएकाहरूको जीवनको भोगाइलाई समेटेर नवगायिका गंगा छन्त्यालको सांगीतिक कोसेली जिउन खोज्यो जिउनै गाह्रो बजारमा आएको छ।

डीएआर मुभिज एन्ड फिल्म्स् प्रालिको प्रस्तुति रहेको गीत नवगायिका गंगा छन्त्यालको वास्तविक जीवनमा आधारित आधुनिक गीत हो। गीतमा शब्द तथा संगीत छन्त्यालको आफ्नै रहेको छ भने एरेन्ज भुवनप्रकाश बडुले गरेका हुन्।

गीतको म्युजिक भिडियो डीएआर मुभिज एन्ड फिल्म इ. प्रालिको निर्माणमा बजारमा आएको हो। गीतले बजारमा आएको एक साताभित्र नै निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। उक्त भिडियोमा कलाकारहरू रमा थपलिया, उत्तम केसी, आशा खड्का, जीवन बडु, नारायण दंगाललगायतको अभिनय रहेको छ। म्युजिक भिडियोमा छायांकन अमन बडु, सम्पादन विवेक सुनुवार, कला रोशन झा र निर्देशन प्रभावनको रहेको छ।

काठमाडौंको राष्ट्रिय महिला आयोगमा आयोजित विमोचन कार्यक्रममा ख्यातिप्राप्त हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले गीत विमोचन गर्दै अपांगता भएकाहरूलाई सफल जीवन जिउनका लागि गीत प्रेरणाको स्रोत भएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्