मनराजा साँझमा गुञ्जियो नेपालीसँगै नेवारी गीत



वाद्यवादक तथा संगीतकार मनराजा नकर्मीको संगीतको सघन अनुभूत गराउने अपूर्व क्षण र≈यो, शनिबार आयोजित मनराजा नकर्मी एकल साँझ। नकर्मीका संगीतका पारखी तथा संगीतकर्मीसमेत सम्मिलत गराएर नेपाल मण्डल टेलिभिजनले उनको एकल साँझ आयोजना गरेको हो।

यो साँझ नकर्मीको संगीतिक जीवनमा पहिलोपटक आयोजना गरिएको थियो। यस दृष्टिले संगीतकार नकर्मीमा हर्षको सीमा थिएन। यसअघिको साँझबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साहित्यकार तथा फिल्मकर्मी प्रकाश सायमीले उनका बारे सुनाइरहँदा उनको हर्ष आँशु बनेर आँखामा छचल्किएको थियो। संगीतकार नकर्मीले आफ्नो तीन दशकको सांगीतिक यात्रामा हजारौं गीतमा लय हाले।

यसका साथमा नेपाली भाषाका १३ वटा गीति संग्रह, नेपाल भाषाका ९ वटा गीति संग्रह त्यसको परिणति हुन्। तीन धुन संग्रह र आठ फिल्ममार्फत नकर्मीको संगीतको अनुभूत गरेका स्रोता, दर्शकको भीडले नेपाल प्रज्ञा प्रतिष्ठानको हल खचाखच थियो। विभिन्न गीतकारका शब्द र गायक गायिकाको स्वरबाट मनराजा नकर्मीको संगीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। उनको संगीत रहेको नेपाली भाषाका १५ र नेपाल भाषाका ३ गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गायक आनन्द कार्कीले राजकुमार दुःखीको शब्द रहेको कस्को के–के कुरा सुनी मसँग तिमी किन रिसायौ बोलको गीतसँगैै आफ्नो मुड चलेको अर्को गजल सुनाए। उनले गीतकार रत्न शमशेरको समर जित्न गा¥हो हुन्न भन्ने गजल गाउँदा माहौल निकै तरंगीत बन्न पुगेको थियो। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले मनराजाको संगीत रहेको नेपाली भाषाको गीत गाएका थिए। जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित अन्जानमै तिमीसित कस्तो माया लाएँ, यस्तो लाग्छ यो जुनीमा जिउन मैले पाएँ गीत सुनाउँदै मदनकृष्णले नकर्मीका संगीतिक क्षमताको प्रशंसा गरे।

डा. दीर्घसिंह बमको रचनामा मनको व्यथा कसरी दुख्छ नसोध मलाई बोलको गीत गायिका संगीता शाक्य थापाले सुनाइन्। त्यसै गरी गायक गायिका धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भुराज शाक्य, रामचन्द्र काफ्ले, यम बराल, विश्व नेपाली, दीपक लिम्बु, सन्तोष लामा, प्रकाश तिमल्सिना, कुन्ती मोक्तान, निशा देशार, टीका प्रसाईं, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, सरिता शाही, मेनुका पौडेलले पनि गायनमा साथ दिएका थिए।

एकल साँझमा कलाकार दिनेशराज रेग्मीको संयोजनमा २० जना वाद्यवादकले सांगीतिक साथ दिएका थिए। डा. रामविक्रम सिजापति, डा. कृष्णहरि बराल, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. सुनलाल थापा, आनन्दरत्न बज्राचार्य, हेमन्त विवश, राजकुमार श्रेष्ठ, रमेश गाउँले, देवदत्त भट्टलगायतका गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो। गीतकार निर्मलरत्न शाक्यको नेपाल भाषाको चर्चित गीत लिक्क वयामा मनराजाका छोरी एवं नायिका आशिष्मा नकर्मीले नृत्य प्रस्तुत गरेकी थिइन्। एकल साँझ मनराजा नकर्मीको तीन पुस्ताको संगीतिक प्रतिभाको प्रतिबिम्ब भएको जनकवि दुर्गालाल श्रेष्ठले बताए।

‘भीमबहादुर नकर्मीपछि मनराजा अनि आशिष्मासम्म पुग्दा तीन पुस्ताको एउटा प्रतिबिम्बको प्रतीकका रूपमा मेरो अगाडि आउँछ’ –कवि श्रेष्ठले भने। फिल्म निर्देशक एवं गीतकार चेतन कार्की, यादव खेरल, गीतकारहरू रत्न शमशेर थापा, संगीतकार दीपक जंगम, जनकवि दुर्गालाल श्रेष्ठलगायतको उपस्थितिमा नेपाल मण्डल टेलिभिजनको तर्फबाट अध्यक्ष रमेश महर्जनले नकर्मीलाई
खादा ओढाइ सम्मानपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्