डिफेन्डिङ च्याम्पियन र रनरअप बाहिरिए



मेलबर्न, (एजेन्सी)
मेलबर्नमा जारी अस्टे«लियन ओपनबाट डिफेन्डिङ च्याम्पियन रोजर फेडेरर र गत वर्षकै रनरअप मारिन चीलीच बाहिरिएका छन् ।
आईतबार चौथो चरणका खेलमा फेडेरर ग्रीसका स्टेफानोस टीसीटीसीपाससँग र रोबेर्टो बाउटिस्टा अगटसँग चिलिच पराजित भएका हुन् । फेडेररले पहिलो सेटमा कडा संघर्ष गरी ७–६ ले जितेका थिए । तर यसपछि २० वर्षीय स्टेफानोसले खेलमा धाक जमाउँदै लगातार तीन सेट टाइब्रेकरमै जितेर स्विस खेलाडीको चुनौती समाप्त पारे ।

पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने पहिलो ग्रीक खेलाडी बन्दै इतिहास रचेका स्टेफानोसले सो खेल ६–७, ७–६, ७–५, ७–६ ले जितेका थिए । योसँगै २० ग्रान्डस्लाम विजेता फेडेररको सातौं पटक अस्टे«लियन ओपन जित्न अर्को वर्ष कोसिस गर्नु पर्ने भएको छ । यसअघिको खेलमा म्याराथन म्यानको उपनामले परिचित स्पेनका अगटले चिलीचलाई पाँच सेटमा पराजित गरेका थिए ।

यस्तै महिला सिंगल्सतर्फ पनि स्तब्ध नतिजा निस्केको छ । घरेलु खेलाडी एश्लेग बार्टीले कमब्याक गर्दै मारिया सारापोभालाई ४–६, ६–१, ६–४ ले प्रतियोगिताबाट छुट्टी गरिन् । बार्टीले पहिलो सेट हारेपनि त्यसपछि लगातार ९ गेम जितेर २००८ की च्याम्पियनलाई हराउन तय गरेकी थिइन् । योसँगै उनी अस्टे«लियन ओपन क्वार्टरफाइनलमा पुग्ने येलेना डोकिच (२००९) पछिको पहिलो महिला अस्टे«लियन खेलाडी बनेकी छिन् । पहिलो पटक ग्रान्डस्लामको अन्तिम आठमा पुगेकी बार्टीले अर्को खेलमा पेट्रा केभिटोभासँग खेल्नेछिन् । चेक खेलाडी केभिटोभाले आमान्डा एनीसीमोभालाई ६–२, ६–१ ले पन्छाएकी थिइन् ।

रड लेभर एरेनामा घरेलु दर्शक पहिलो सेटमा चुपचाप हुन बाध्य भएका थिए । रुसी खेलाडी सारापोभाले पहिलो सेट जितेर अन्तिम आठमा सहजै पुग्ने छनक देखाइन् । तर दोस्रो सेटमा अवस्था अर्को भयो । जब बार्टीले १–१ को स्थितिमा लगातार ५ खेल हात पार्दै दोस्रो सेट आफनो बनाइन् । यसले घरेलु दर्शकको आवाज स्टेडियममा चर्काे बनेको थियो ।

निर्णायक सेटमा बार्टी ४–० ले अगाडि बढेपछि सारापोभाको लागि मेलबर्नबाट घर फर्कने तय भएको थियो । तर सारापोभाले संघर्ष गर्दै ४–३ को स्थितिमा सेट पु¥याएर बार्टी र हजारौ घरेलु दर्शकलाई निरास तुल्याइन् । अन्ततः बार्टीले सारापोभाको कमजोर सर्भिसको फाइदा उठाउँदै सेट र खेल आफनो पक्षमा पारेकी थिइन् ।

१५ महिना प्रतिबन्धपछि कोर्टमा फर्केपछि सारापोभा ग्रान्डस्लामको चौथो चरण भन्दा माथि एक पटक मात्रै पुगेकी छिन् । गत वर्ष फ्रेन्च ओपनमा उनी क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । त्यो पनि सेरेना विलियम्सले चौथो चरणमा केही समस्याको कारण खेल्न असमर्थ जनाएपछि नै सारापोभाको यात्रा अन्तिम आठमा पुगेको थियो ।

केर्बर आउट
विम्बल्डन च्याम्पियन एन्जेलीक केर्बर अस्टे«लियन ओपनबाट बाहिरिएकी छिन् । जर्मन खेलाडीलाई विश्व वरियताको ३५औं स्थानमा रहेकी डेनीली कोेलिन्सले हराएकी हुन् । अमेरिकी खेलाडीले मात्र ५६ मिनेटमा ६–०, ६–२ ले खेल जित्दै जारी प्रतियोगितामै ठूलो स्तब्ध नतिजा निकालिन् ।

नाडाल अन्तिम आठमा
दोस्रो वरियताका राफाल नाडालले टोमास बर्डिचलाई सीधा सेटमा हराएर अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । स्पेनी खेलाडी नाडालले मेलबर्न कोर्टमा बर्डीचमाथि ६–०, ६–१, ७–६ ले जित हात पारेका थिए । १७ ग्रान्डस्लाम विजेता नाडालले अन्तिम आठसम्म पुग्न सेट ड्रप गरेका छैनन् । उनको अर्को खेलमा अमेरिकाका फ्रान्सेस टीयाफोइसँग हुनेछ । टीयाफोइले बुल्गेरियाका ग्रिगोर डिमिट्रोभलाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्