आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा



गोकुल घोरसाइने, बारा
साविक विजेता त्रिभुवन आर्मी क्लबले दशौं संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलको अन्तिम चारमा स्थान बनाएको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलमा अर्को विभागीय क्लब एपिएफ विरुद्ध ४–२ को जित निकाल्दै आर्मीले सेमीफाइनलको यात्रा तय गरेको हो । शनिवार वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप जितेको आर्मीले २४ घण्टा नवित्दै सिमरा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा दुईपटक सम्म लिएको अग्रता जोगाउन नसक्दा एपिएफ क्वाटर फाइनलबाटै बाहिरन बाध्य भयो । एपीएफका राजन गुरुङले खेलको ३३ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर आर्मीले बराबरी गोल फर्कायो । टंक बस्नेतले ४३ औं मिनटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।

दोश्रो हाफको शुरुवातमै एपिएफले फेरि अग्रता लियो । ४७ औं मिनटमा आशिष लामाले गोल गर्दै अग्रता दिलाएपनि एपिएफको खुशी लामो समयसम्म टिक्न सकेन । ७३ औं मिनटमा आर्मीका दिपक गुरुङले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए । ८६ औ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित पारेका थिए ।
आर्मीको पहिलो रोजाइका गोल रक्षक विकेश कुथुले थकानका कारण खेलको अन्त्यतिर मात्र पोष्ट सम्हालेका थिए । २–२ को बराबरीपछि टाइव्रेकरलाई लक्षित गर्दै गोलरक्षक परिवर्तन गर्ने निर्णय लिएका प्रशिक्षक नविन न्यौपानेले जितको खुशीका लागि टाइव्रेकर कुर्नु परेन । अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जन जागृति यूवा क्लबसंग खेल्नेछ । खेलको म्यान अफदि म्याच आर्मीका दिपक गुरुङ घोषित भए । गुरुङ्गले दश हजार नगद प्राप्त गरे ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले अग्रतापछि रक्षात्मक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । ‘अग्रता जोगाउन रक्षात्मक खेल्नु आवश्यक थियो, उनले भने, तर आर्मीले थप आक्रमक रुपमा प्रस्तुत भयोे ।’ महर्जनले दोश्रो हाफमा बराबरीपछि आर्मीको आक्रामक खेललाई रोक्न नसक्दा पराजय बेहोरेको उनले बताए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले जित हासिल गरेपनि खेलाडीले सोंचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । न्यौपानेले शनिवार मात्र वीरगञ्जमा फाइनल खेलेर आएका खेलाडीले सोचे अनुरुप खेल्न नसकेको सुनाए । बाँकी खेलमा आर्मीले थप उत्कृष्ट प्र्र्रदर्शन गर्ने उनले दावी गरे ।

आर्मीका गुरुङलाई दोहोरो सम्मान
म्यान अफ दि म्याच गुरुङले सिमरा रंगलशालमा अर्को दशहजार नगद सहित सम्मान हात पारेका छन । सिमरा गोल्डकपको पहिलो संस्करणबाट दशौं संस्करणसम्म निरन्तर सहभागी भएको भन्दै गुरुङलाई आयोजकले नगद सहितको सम्मान गरेको हो । क्लबका उपाध्यक्ष शंकर थापा सहितका पदाधिकारीले गुरुङ्गको सम्मान गरेका थिए । उनले प्रतियोगिताको पाँचौं संस्करणदेखि आर्मीबाट सिमरा गोल्डकप खेल्दै आएका छन् । त्यसअघि चौथोमा फ्रेण्ड्स क्लब, तेश्रो र दोश्रोमा हिमालयन शेर्पा तथा पहिलो संस्करणमा मकवानपुर ११ बाट सिमरा गोल्डकप खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्