नगरपालिकाभित्रै काठेपोलका कारण दुर्घटनाको जोखिम



नेपाल समाचारपत्र, पर्वत
कुश्मा नगरपालिका भित्र काठेपोल बिस्थापन नहुँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।
सामुदायिक बिद्युतकीकरण गरिएका कुस्मा नगरपालिकाका ३ वटा वडामा दशक पुराना मक्किएका काठे पोलले दुर्घटनाको जोखिम बढाएको हो ।

कुस्मा नगरपालिकाको वडा नं ११, १२ र १४ मा रहेका काठेपोल बिस्थापन हुन सकेको छैन । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएका काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै २ हजार परिवार परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन्।

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको कुस्मा नगरपालिका वडा नं १२ का दीपक सापकोटाले बताए । ‘काठका पोल फेर्न धेरैपटक विद्युत् कार्यालयमा गयौं,’ उनले भने, ‘कसैले वास्तै गरेका छैनन्, हामीले बाँसका टेका लगाएर धानिएको छ ।’ सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उनले बताए ।

काठे पोल भाँचिएर दुर्घटनाको जोखिम बढेपछि स्थानीय जनज्योति प्राविका विद्यार्थी बढी जोखिममा परेको विद्यालयले जनाएको छ । विद्यालय हाताबाटै तानेको थ्रि फेज लाइनको पोलसमेत भाँचिन लागेको विद्यालयले जनाएको छ । हावाहुरीको मौसम सुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेन्ट लाग्ने हो भन्ने त्रास बढेको अभिभावक सन्तोष सुवेदीले बताए ।

कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाखर्कमा पनि सामुदायिक बिद्युतकीरण र केन्द्रिय प्रसारण लाईनको बिद्युतमा समेत काठेपोल रहेका छन । गत बर्ष वडा कार्यलयले १० लाख रुपैंयाका फलामे पोल खरिद गरेपनि अझै १ सय ५० जति थप नयाँ फलामे पोल आवश्यक पर्ने वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले बताए । यस बर्ष पोल खरिदका लागि जम्मा ५ लाख बिनियोजन गरेको छ । पोल परिर्वतन नहुँदा अहिले पनि बाँस, र सामुदायिक वनबाट सल्लोका रुख काटेर स्थानियबासीले काम चलाउँदै आएका छन ।

काठेपोल बदल्नका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति नगरपालिकाले ध्यान दिनुपर्ने माग स्थानियको छ । नगरपालिकाले ३ वडाका लागि २ करोड जति बजेट बिनियोजन गर्ने हो भने एकै बर्षमा जीर्ण पोल परिर्वतन गर्न सकिन्छ । तर कुस्मा नगरपालिकाले वजेट जति वडामा कनिका छरे जस्तो बितरण गर्दै आइरहेको छ ।

विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रले पनि जोखिम बढी भएका स्थानमा प्राविधिक कर्मचारी खटाएरै पुराना पोल मर्मत र विद्युतीकरण सुधार गरिरहेको जनाएको छ । प्राविधिक प्रमुख हेम शर्माका अनुसार धेरै विद्युतीय चाप हुने क्षेत्रमा बढेको जोखिम कम गर्न केबल व्यवस्थापन सुरु भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्