एक महिनाभित्र कर्मचारी समायोजन गर्ने तयारी



सुनील महर्जन, काठमाडौं । सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउ“दो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ ।

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । फारम नभर्ने कर्मचारीको जेष्ठता लगायत हेरेर समायोजन गरिने उहाँ“ले बताउनुभयो । खटाएको पत्र लिएर २१ दिनसम्म सिंहदबारमै बसेर फिल्डमा नजाने कर्मचारीलाई पनि कारवाही गर्ने मन्त्रालयले जनाएको छ । सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्ने समेत सरकारले तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन् । मन्त्रालयका अनुसार ७७ हजार कर्मचारीले फारम भरेका थिए । अनलाईन मार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्याकं एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थालिने भएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अहिले फाराम भरेका कर्मचारीहरुको डाटा प्रोसेसिङ भइरहेको छ । यो काम सकिएपछि ‘सम्भवतः अर्को साताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु गर्ने तयारी मिलाइएको छ।

सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने पनि मन्त्रालयले जनाएको छ । तीनै तहमा कर्मचारी पदपूर्ति गर्न मन्त्रिपरिषदबाट दरबन्दी स्वीकृत पनि भइसकेको छ । केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो ।

निजामती सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद सचिवालय सम्वन्धी ऐन २०६४ बमोजिम गठन भएका सेवाका सरकारी सेवाका कर्मचारी र अन्य स्थानीय निकायबाट नियुक्ति पाएका हाल स्थानीय तहमा काम गर्ने कर्मचारी समायोजनमा जाने छन् ।
दीर्घ रोग लागेकालाई पनि सकेसम्म संघमै राख्ने मन्त्रालयको तयारी छ। रोजेको स्थानीय तह जान पाइने, पती वा पत्नी दुवै सरकारी सेवामा भए सकेसम्म एकै स्थान नभए नजिकै खटाइने, ग्रेड वृद्धि तथा सेवा सुविधामा खाइपाइआएको भन्दा नघट्ने गरी आकर्षक सेवा सुविधा दिएर समायोजन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्