बाक्लै भेटिए कर्याङकुरुङका झुन्ड



टीका बन्धन, काठमाडौं  ।
जाडो छल्न नेपाल हुँदै भारतका विभिन्न भेगमा बसाई सर्ने पन्छी क¥याङकुरुङको संख्या यसपटक निकै बढेको छ । मंगोलिया र काजाकिस्तानबाट नेपाल भित्रिने क¥याङकुरुङको संख्या र झुन्ड विगत भन्दा निकै बाक्लो पाइएको हो ।

यसपटक २६ हजार ३ सय १९ क¥याङकुरुङ उपल्लो मुस्ताङको कालीगण्डकी र कर्णाली उपत्यका हुँदै भारतको राजस्थान र गुजराततर्फ बसाई सरेका छन् । यो क्रम हरेक वर्ष यसरी नै दोहोरिन्छ । अनि गर्मीयामको शुरुवातसँगै कालिगण्डकी र आसपासका नदीले बनेका उपत्यका हुँदै क¥याङकुरुङ आफ्नो मूल थलो उत्तरी गोलाद्र्ध फर्कन्छन् ।

नेपाल पन्छी संरक्षण संघले केही वर्षयता सारस प्रजातीका यो पन्छी गणना गर्दै आएको छ । संघका बरिष्ठ कार्यक्रम अधिकृत ज्योतेन्द्रज्यू ठकुरीका अनुसार सन् २०१७मा ८ हजार १ सय ६६ क¥याङकुरुङ मात्रै नेपाल हुँदै बाहिरिएका थिए भने सन् २०१६को संख्या केही बढी थियो । सो वर्ष यस्ता आगन्तुक पन्छी १४ हजार ४ सय ४८ थिए ।

ठकुरीका अनुसार मंगोलिया, काजाकिस्तान र आसपासका छिमेकी मुलुकमा बच्चा कोरल्ने क¥याङकुरुङ हिउँदयामको शुरुवातसँगै जाडो छल्न दक्षिण एसियातर्फ बसाई सर्ने गर्छन् । यो पन्छीको बसाई सर्ने समय यकिन गरेर संघका प्राविधिक र पन्छीविद्को टोली हिउँदयामको शुरुवातसँगै उपल्लो मुस्ताङ, कर्णाली र सो आसपासमा नदीले बनेका उपत्यका पुग्ने गर्छन् । सन् २०१६मा १५ दिन, २०१७मा २१ र सन् २०१८मा ९ दिन क¥याङकुरुङको अनुगमन गरिएको थियो ।

विश्वमा विभिन्न १५ प्रजातीका सारस अभिलेख गरिएको छ । नेपालमा पाइने सारसका ४ प्रजातीमध्ये क¥याङकुरुङ आकारमा सबैभन्दा सानो हो । सारसका लक्ष्मण, कालोटाउके, क¥याङकुरुङ र सारस अभिलेख भएका छन् । सयौको संख्या र ठूल–ठूलो झुन्ड बनाएर बसाई सर्ने भएकाले सो पन्छी गन्तव्यतर्फ लम्किने समय यकिन गरेर बिज्ञ र प्राविधिक फिल्डमा खट्ने गरेका ठकुरीले बताउनुभयो ।

‘प्राय ९ बजेदेखि दिउँसो २ बजेसम्म क¥याङकुरुङको समुह आकाशमा देखिन्छ, यो क्रम हप्ता दिन र कहिलेकाहिँ धेरै दिनसम्म उस्तै हुन्छ त्यसैले नियमित रुपमा फिल्डमा खट्नै पर्छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । यसपटकको गणनामा कर्णाली र भेरी उपत्यकाका आसपासमा जाजरकोटका पन्छीविद् गोविन्द सिंह नेतृत्वको टोली खटिएको थियो । तर सो भेगमा यसपटक सो मार्गमा क¥याङकुरुङ फेला नपरेको सिंहले बताउनुभयो ।

मौसम अनुसार उपयुक्त बाटो रोज्दै गन्तव्यतर्फ लम्किने भएकाले यसपटक कर्णालीमा सानो समुह समेत नभेटिएको उहाँले जानकारी दिनुभयो । केही गरी मौसम विग्रियो भने क¥याङकुरुङको समुह नेपालमा बास बसेर मात्रै भारतर्फ जान्छ, सिंहले भन्नुभयो–‘उड्नका लागि यसले सफा र अनुकूल मौसम खोज्छ ।’

 

प्रतिक्रिया दिनुहोस्