डा. केसीको अनशन कहिलेसम्म ?



चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औं चरणको अनशनमा छन् । डा. केसीको हरेकपटकको अनशन सहमतिमा टुंगो लाग्दै आएको छ । सरकारले संसद्मा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा सहमतिअनुसारको विषय समावेश नगरेको भन्दै डा. केसीले १६ औं चरणको अनशन इलामबाट शुरु गरे । सरकारले डा. केसीको माग पूरा गर्न सहमतिको बाटो रोज्ने गरेको छ । तर सहमति कार्यान्वयन नभएको भन्दै डा. केसी बारम्बार अनशन बस्दै आएका छन् ।

जायज ठानेरै डा. केसीको माग पूरा गरेपछि कार्यान्वयन गर्ने काम पनि सरकारकै हो । कार्यान्वयन नै गर्न नसकिने सहमति गर्नु राम्रो पक्ष होइन । तर सरकारले बारम्बार सहमति गर्ने र कार्यान्वयनचाहिँ नगर्ने डा. केसी पक्षधरको भनाइ छ । सहमति विश्वासको कडी हो । जब विश्वासको संकट पर्छ तब सहमति र सम्झौता कार्यान्वयन गर्न विभिन्न बहानाबाजी शुरु हुन्छ । यसअघि डा. केसीको माग पूरा गराउन दबाब बढेपछि सरकार माग पूरा गर्न राजी त भयो तर सहमतिअनुसार चिकित्सा विधेयकमा समावेश नगरेको प्रति केसीले अनशन शुरु गरेका छन् ।
अनशन शुरु भएको दुई साता बितिसकेको छ । तर सरकारले सहमतिमार्फत अनशन तोड्न कुनै कसरत गरेको छैन । इलाममा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि राति नै हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । १५औं अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौता विपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा. केसीले १६ औं चरणको अनशन शुरु गरेका हुन् । डा. केसीले १६ औं अनशनमा ६ बुँदे माग राखेका छन् ।

केसीको मागप्रति समर्थन र विरोध दुवै शुरु भएको छ । केसीको माग पूरा गर्ने वा नगर्ने सरकारको विषय हो । दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्टको सरकारलाई सरकारी अस्पतालमा कार्यरत डा. केसीले चुनौती दिएका छन् । संविधानमा नै स्वास्थ्य र शिक्षा मौलिक हकअन्तर्गत समावेश गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक नागरिकले सहजरुपमा स्वास्थ्य र शिक्षा पाउनुपर्ने हो । तर दुई तिहाइ बहुमत प्राप्त सरकारले निजी क्षेत्रलाई नै पहिलो प्राथमिकता दिएको छ । डा. केसीले सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अगाडि बढाउन माग गरेका छन्, जुन जायज पनि छ । डा. केसीले उठाएका मागहरु जाजय हुँदाहुँदै पनि कतिपय मागहरुलाई राजनीतिक रुपमा उठाउन खोजेको देखिन्छ । चिकित्सा शिक्षा विधेयकसँग जोडेर डा. केसीले द्वन्द्वकालीन मुद्दाको विषयमा माग राख्नु जायज होइन । यस परिस्थितिमा अब डा. केसीको अनशन कहिलेसम्म ? यसतर्फ सम्बन्धित निकायहरुको ध्यान आकृष्ट होस् ।

प्रतिक्रिया दिनुहोस्