एउटै ठेलाको कमाइ महिनाको एक लाख



रिपेश दाहाल , हेटौँडा,

ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटाँंैडामा ठेला किचेन चलाएर बस्नुभएका ३५ बर्षीय युवराज नेपाल । वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खानुभएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई जानुभएका उहाँलाई एक वर्षकोे बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो । आज रु २० हजार भन्दा कमको लगानीमा हेटाँैडामा दैनिक तीन÷चार हजार त मुनाफा मात्रै गर्ने युवराज भन्नुहुन्छ – “हिजो विदेश नगएर यस्तै काम ग¥या भए हेटौँडामा पाँच तले घर बनाइ सक्या हुन्थँे ।”

उहाँको ठेला वरपर केराका परिकारसहित चटपटे, पकौडा, आलु चप, भेज मोमोलगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लागेको देख्न सकिन्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन्न पैसा कमाउने सपना देख्नुभयो । ऋणपान गरेर मलेसिया उड्नु पनि भयो । भुँइ कहिल्यै नछोड्नु भएका उहाँले बोइङ चड्दा भँुइ मात्रै छोड्नु भएन, देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाड्नु भयो । पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उहाँलाई विदेश गएर आएका नेपालीहरुको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, विदेशमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् ।

युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नु पर्दाको ग्लानि अनि, के ले हो के ले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो । “कसम मलाई सानोमा दाजुभाइ सिरकले थिची खेल्थ्यौं, त्यतिखेर अलि धेरै बेर सिरकले थिचिँदा जस्तो उकुसमुकुस हुन्थ्यो त्यस्तै भया,े” उहाँले विगत सम्झँदै आफ्नै लवजमा भन्नुभयो ।

तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना बिपना भन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाउनु पनि भयो तर, त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्नुहुन्छ – “रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।” त्यसो त तीन वर्षको अवधिमा एकपटक पनि नेपाल नफर्कनु भएका युवराजले विदेश मै हँुदा आफ्नो पिता गुमाउनुभयो । जन्मदाताको काजक्रिया गर्न नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । “पसिना मात्र हैन दाइ मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा,” युवराजले भावुक हुँदै भन्नुभयो ।
नेपालमै केही गर्ने सोचसहित युवराज नेपाल फर्कनुभयो ।

त्यसो त विदेशमै हुँदा उहाँलाई नेपाल मै गर्न सकिने थुप्रै कामहरुको ‘आइडिया’ नफुरेको होइन तर, के चाहीँ गर्ने निक्र्योल भने हुन सकेको थिएन । यसबीचमा चितवनकी निरु चिमरियासँग उहाँको विवाह भयो । एक्लो युवराजसँग अब सहयात्री थपिएपछि नेपालमै बसेर कुखुरापालन गर्ने योजना बन्यो । नवलपरासीका युवराज कुुखुरा पाल्ने योजनासहित चितवनमा बसाइँ सर्नुभयो । चितवनमै खोर बन्यो । कुखुराका चल्ला पनि हालियो । चल्ला बढ्दै गए ।

चल्लाहरु कुखुरामा परिणत भए । बेच्ने बेला पनि भयो । तर बेच्ने बेलाका कुखुरा भटाभट मर्न थाले । युवराजलाई “तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा” भने झैं भयो । मलेशियाबाट कमाएको अलिअलि रकम पनि यसले डुबायो । परदेशप्रतिको वितृष्णा कुखुरापालनको घाटाले कता हरायो कता । युवराज २०६९ सालमा दुबईका लागि उड्नु भयो । यो उहाँको दोस्रो वैदेशिक यात्रा थियो । उहाँका अनुसार दुबई पनि फापेन । मासिक १० हजार रुपैयाँको तलब खाना खान नै नपुग्ने । युवराज एक वर्षको दुबई बसाइलाई बिट मारेर गोजीमा १० हजार रुपैयाँ बोकेर नेपाल फर्कनु भयो ।

त्यसपछि आफन्त भेट्न हेटाँैडा आउनुभएका युवराजले हेटौँडामा सटर भाडामा लिएर दुनोट बनाएर बेच्न थाल्नुभयो । आँखै अगाडि ताजा दुनोट, सेल, जेरी, पुरी बनाउँदै गरेको देखेपछि ग्राहकहरु बढ्दै गए, व्यापार पनि बढ्दै गयो । ठिकैको कमाइ भए पनि सटर भाडा महङ्गो भएकाले बचत हुन सकेन । युवराजले हेटौँडामा ठेला किचेन खुब चलेको देखिरहनुभएको थियो । साँझपख हेटाँंैडाका सडक किनारमा मोमो, ससेस, चप, पकौडा, चटपटेलगायतका खानेकुराका ठेला किचेनहरु देखेपछि युवराजलाई त्यस्तै पसल चलाउन मन लाग्यो र उहाँले त्यसै गर्नुभयो ।

हेटाँैडाको व्यस्त बजारबाट अलि पर हेटौँडा सिमेन्ट उद्योग जाने बाटोमा उहाँले ‘साइँला दाइको ठेला किचेन’ खोल्नु भयो । बजारले नयाँ तर स्वादिला परिकार खोज्छ भनेर केराको नयाँ परिकार कल्पना गर्नुभयो र नाम राख्नु भयो ‘बनाना ससेस’ । आज त्यही बनाना ससेसले युवराजको धेरै पैसा कमाउने सपना पूरा गर्दैछ र परिवारका चाहनाहरु पनि ।

आज साँइला दाइको ठेलाबाट दैनिक अपरान्ह ३ बजे देखि साँझ ८ बजेसम्ममा तीन–चार सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् । यो सबै काममा सहयोग गर्नुहुन्छ उहाँकी श्रीमती निरु । “फ्रन्टमा म छु व्याकग्राउण्डमा मेरी वाइफ,” युवराजले नेपालीमा अङ्ग्रेजी मिसाएर भन्नुभयो । निरु भने ठेलामा के सकियो वा के आवश्यक प¥यो याद गरेर बस्नुहुन्छ । सकिएका चिजबिज कोठाबाट ल्याइ हाल्नुहुन्छ । दुई छोराका अभिभावक बनिसकेको यो जोडीको सफलताका कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्