ओम्याक्स हल पुनः सञ्चालनमा आउने



हेटौंडा, (नेस)
करिब ७ महिनाअघि आगलागीबाट ध्वस्त भएको हेटौंडाको ओम्याक्स हल फागुन १७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ।
ओम्याक्स हल नयाँ प्रविधिसाथ सञ्चालनमा आउन लागेको हो। हाल मर्मतको अवस्थामा रहेको हलमा दर्शक प्रवेश गर्दा पहिलेभन्दा परिवर्तन र सुविधासम्पन्न हुने हल सञ्चालक नरेन्द्र महर्जनले बताए।

साउन्ड सिस्टमदेखि दर्शक बस्ने सिटसमेतको स्वरूप परिवर्तन हुने महर्जनको भनाइ छ। महर्जनका अनुसार हल बन्द भएदेखि हरेक दिन कहिलेदेखि सञ्चालनमा आउँछ भन्दै दर्शकले प्रश्न गर्दै फोन गर्ने गरेका छन्। ‘दर्शकको प्रतीक्षाको घडी सकिने समय आएको छ।’ –उनले भने। हल सञ्चालनमा आउने समयसम्म करिब ३ करोड खर्च हुने महर्जनले बताए। महर्जन फिल्म निर्माता, प्रदर्शक, वितरक तथा नेपाल चलचित्र विकास बोर्डका सदस्यसहित एफडी कम्पनीका अध्यक्ष हुन्।

विद्युत् लाइन मर्मतका क्रममा इलेक्ट्रिक सर्ट भएर हलमा आगलागी भएको थियो। आगलागीबाट करिब ३ करोड क्षति भएको थियो। साउन २३ गते बिहान आगलागी हुँदा हल २ घन्टामा ध्वस्त भएको थियो। हेटौंडा–४ मा स्थापित उच्च प्रविधियुक्त सिनेमा हलमा बिहान करिब साढे ९ बजे पर्दाको भागबाट शुरू भएको आगोले हलको पूरै सामग्री जलेर नष्ट गरेको थियो। केही समयअघि मात्र हलको मर्मत गरेर सिट तथा कार्पेट परिवर्तन गरिएको थियो।

३५ एमएमको अत्याधुनिक थ्रिडी डिस्प्ले प्रविधि प्रयोग गरिएकाले दर्शकले थ्रिडी फिल्म हेर्न सक्ने सुविधा ओम्याक्समा थियो। यस्तो सुविधासम्पन्न सिनेमा हल नेपालको पाँचौं र मोफसलको पहिलो हो।

 

प्रतिक्रिया दिनुहोस्