चितुवाको छालासहित दुइ नेपाली भारतमा पक्राउ



भद्रपुर । झापाको काकँडभिट्टा नाकाबाट भारततर्फ तस्करी भएको चितुवाको छालासहित दुई नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।

भारतीय प्रहरी र वन विभागको संयुक्त गस्ती टोलीले विशेष सूचनाको आधारमा शनिवार दिउँसो नेपाल–भारतको सीमावर्ती बजार पश्चिम बङ्गालको पानीटङ्याकीबाट उनीहरुलाई पाँच फिट चितुवाको छालासहित पक्राउ गरेको हो ।

बैकुण्ठपुर वन विभाग अन्तरगतको विशेष टास्क फोर्स बेलाकोबाका रेञ्जर संजय दत्तले उनिहरु पक्राउ परेको जानकारी दिए । पक्राउ पर्ने मुकुन्द पोखरेल र ज्ञानु प्रधान रहेको उनले बताए । पक्राउ परेका दुवै जना नेपालको इलाम इरौटार स्थायी ठेगाना भएको प्रहरीले जनाएको छ ।

वन विभागले गरेको प्रारम्भिक अनुसंन्धानमा चितुवाको छाला नेपालबाट ल्याएको र भारत हुर्दै बङ्गलादेश पठाउन लागेको खुलेको रेञ्जर दत्तको भनाई छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शनिवार नै अदालत पेश गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्