कांग्रेस संयमित नभए खतरा निम्तिन्छ



भीमसेनदास प्रधान

(सांसद) नेपाली कांग्रेस 

भीमसेनदास प्रधान नेपाली कांग्रेसको सांसद हुनुहुन्छ । काठमाडौंको क्षेत्र नम्बर ६ बाट उहाँले प्रतिनिधिसभाको यो निर्बाचन जित्नुभएको हो । लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दागर्दै राजीनामा दिएर राजनीतिमा आउनुभएका उहाँ २०६४ को पहिलो संविधानसभामा पनि यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो तर निर्बाचन जित्न सक्नुभएन । २०७० साल र यसपालि सांसदमा निर्बाचित उहाँ पार्टीको काठमाडौं सभापतिसमेत भइसक्नुभएको छ । वर्तमान सरकारको गतिविधि जनताको पक्षमा नभएको भन्ने उहाँ सरकारले पाएको जनादेशको सदुपयोग गर्न नजानेको बताउनुहुन्छ । शेरबहादुर देउवाको नेतृत्वमा बनेको पछिल्लो सरकारको रक्षामन्त्री हुनुभएका उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी –

अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था अत्यन्तै तरल र कहालीलाग्दो छ । यसले गर्दा अबको राजनीतिक मात्र होइन देशको भविष्य के होला भनेर चिन्ता लाग्न थालेको छ । यो अवस्था बढ्दै गयो भने हामीले दुःख गरेर ल्याएको लोकतन्त्र, गणतन्त्रमा पनि प्रश्नचिन्ह उठ्ने छ । नेपालमा सरकार छ भनेर जनताले पत्याउन छोडेका छन् किनभने सरकारको अनुभूति उनीहरुले गर्न पाएका छैनन् । धेरै टाढा जानुपर्दैन निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन अझ भनौं सरकार नै हत्यारा जोगाउन लागिपरेको छ ।

नेकपाले मीठो नारा लाएकाले होला कि भन्ने पनि जनतामा भ्रम भयो । बिकास र समृद्धिको नारा हराएको छ, सरकार तानाशाही बन्दै गएको छ । अब पनि कांग्रेसले खबरदारी गरेर नेकपा र सरकारलाई ठीक ठाउँमा नल्याउने हो भने अन्यौलता झनै बढ्नेछ । सधैं विपक्षीलाई बक्रनजरले हेरेर मात्र हुँदैन । बिकास र समृद्धिको कुरामा सरकारले सबै पक्षसँग सहकार्य गरेर जानुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेससँग पनि सहमति गरेर जाने भन्नुहुन्छ भाषणमा तर व्यवहार त्यस्तो छैन । प्रधानमन्त्रीले विभिन्न निकायलाई कब्जा गरेर अर्को खतरा निम्त्याउनुभएको छ । जताततै एक्लै शासन गर्ने र नियन्त्रण गर्ने काम राम्रो होइन ।

नेपालमा सरकार छ भनेर जनताले पत्याउन छोडेका छन् किनभने सरकारको अनुभुति उनीहरुले गर्न पाएका छैनन् । धेरै टाढा जानुपर्दैन निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन । सरकार नै हत्यारा जोगाउन लागेको छ ।

सरकारले के गर्नुपर्ने थियो र के–के नभएको पाउनुभयो ?
राष्ट्रिय ‘इस्यू’ मा कांग्रेससँग सहकार्य गर्नुको बिकल्प छैन सरकारलाई । पद, पावर र शक्ति एकपटक आउँछ तर सधैं मैले नै मात्र जितेजस्तो गरी जानु हुँदैन । हामीले त सरकारले राम्रो गरोस् भनेर समर्थन नै गरेका छौं तर उनीहरुले हाम्रो उदारतालाई कमजोरी ठाने यही हामी पनि आक्रामक नै भएर जाने हो भने त अर्को खतरा हुन्छ । नेकपाले निर्वाचनमा गरेको प्रतिवद्धता बिर्सिएको छ, यो उसकै लागि घातक छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि समर्थन गरेकै हो कतिपय कुरा चित्तबुझदो थिएन तर पनि विरोध गरेनौं ।

गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा खोलिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा खोलिएको सुशील कोइराला क्यान्सर अस्पताल निर्माण प्रक्रिया रोक्ने यो सरकारको कदम गलत छ । जनताले पाउने उपचारबाट बञ्चित गर्नु कसैको लागि पनि फलदायी हुँदैन ।


सरकारका अहिलेका समस्याहरु के –के हुन् ?
सरकारको मुख्य समस्या त उसको गलत कार्यशैली हो । काम नगर्ने र ठूला गफ गर्ने यो पाराले कांग्रेसलाई त फाइदै हुन्छ तर यसरी देश चल्दैन । अहिले सरकार काण्डैकाण्डमा फसेको छ । सुनकाण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्डले नै सरकार संकटमा छ , जनताले यी सबै प्रश्न गर्दा सरकारको जवाफ छैन ।

तनहुँमा खोलिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा खोलिएको सुशील कोइराला क्यान्सर अस्पताल निर्माण प्रक्रिया रोक्ने यो सरकारको कदम गलत छ ।

हरेक काण्डको फाइल प्रधानमन्त्रीको टेबलमा पुगेपछि हराउँछ यसको अर्थ के होे भनिरहनु पर्दैन ।एसिया प्यासिफिक सम्मेलनमा सरकार सह–आयोजक भएर आफ्नो निर्लज्जता प्रदर्शन गरेको छ सरकारले ।सरकार यहीँ छ भनेर प्रधानमन्त्रीले र मन्त्रीले अनेक अभिनय गरेपनि पत्याउन गाह्रो छ । डा.गोबिन्द केसीसँग सरकारले गरेको प्रतिवद्धता पूरा गरेको छैन । सहमति गर्ने र पालना नगर्ने कुरा खतरा छ ।


अबको राजनीतिक खतरा के देख्नुहुन्छ ?
नेपाल प्रशस्तै सम्भावना भएको देश हो तर यसलाई प्रयोग गर्ने गलत परिपाटी छ । सरकार र संसदबीचको पनि ग्याप भयो । संसदमा केही कुरा राख्न पनि युद्ध जितेजस्तो गर्नुपर्ने अवस्था आयो । केहीअघि प्रधानमन्त्रीले संसदमा दिएको मन्तव्य चित्त बुझेन भनेर प्रश्न गर्न खोजेका थियौं, सिस्टमले काम गरेन र ‘रोस्टर्म’ घेर्नुप¥यो, यो राम्रो लक्षण होइन ।

प्रधानमन्त्रीले प्रस्तुत गरेका तथ्यांक नै हावादारी छन् भनेर पनि समाचार आयो त्यसैले भएका सम्भावनालाई पनि खतरा बनाइयो । कांग्रेस डेमोक्रेटिक कल्चर मान्छ, आतंक मच्चाउने पक्षमा छैन । हिजो माओवादीले अर्थमन्त्रीको ब्रिफकेश नै तोडफोड गरेर बजेट भाषण गर्न दिएनन् त्यो रुपमा जान मिल्दैन । आफ्ना कुरा शान्तिपूर्ण ढंगले राखौं भन्ने हो ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलाएर लाने काम कृष्णप्रसाद सिटौलाले गर्नुपर्छ, उहाँमा त्यो क्षमता छ । सभापतिले एकपटक सिटौलाजीलाई बोलाएर अब के गरौं भन्दा मात्र पनि बिकल्प निस्कन्छ ।

कांग्रेसको महासमिति बैठकले के ग¥यो ?
संविधानअनुसार पार्टीको विधान बनाउने काम भयो । विगतको समीक्षा गर्दै भावी योजना बनायौं । समय अनुकुल विधान परिमार्जन गर्दै जाने कांग्रेसको पुरानो परम्परा हो । प्रत्येक महासमितिले पार्टीलाई गतिशिल र उर्जाशिल बनाएको छ । सबैका कुरा सुनिएको छ । अब घरघरमा मिटिङ गर्ने र गुटबन्दी गर्ने काम बन्द गर्नुपर्छ । पार्टीभन्दा पनि गुट बलियो बनाउने र त्यसैलाई माग्ने भाँडो बनाउने प्रथाको आजै अन्त्य हुनुपर्छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलाएर लाने काम कृष्णप्रसाद सिटौलाले गर्नुपर्छ, उहाँमा त्यो क्षमता पनि छ । सभापतिले एकपटक सिटौलाजीलाई बोलाएर अब के गरौं भन्दा मात्र पनि बिकल्प निस्कन्छ ।

पार्टीमा देखिएका गुटबन्दी र अन्तर संघर्ष घटाउँदै जाने हो आगामी निर्बाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन । नेकपामा पनि बिबाद छ, उनीहरु पनि पूर्णरुपमा एक भएर नयाँ ढंगले बढ्न सकेका छैनन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सानातिना कुरा पनि बाहिर आउँछन् र साँच्चै पो समस्या भएको पो हो कि जस्तो देखिन्छ । सामान्य बिबादलाई अस्वभाविक मान्नु हुँदैन तर त्यही कारणले पार्टीलाई समस्या पर्ने छ भने अवश्य पनि बेलैमा सचेतना अपनाउनुपर्छ ।

हरेक काण्डको फाइल प्रधानमन्त्रीको टेबलमा पुगेपछि हराउँछ, यसको अर्थ के होे भनिरहनुपर्दैन ।

कांग्रेसले धेरै काम गरेको भनेको छ तर निर्वाचनमा ती कुरा किन लान सकेन ?
समस्या नै यही हो कांग्रेसको । अरु पार्टी थोरै काम गर्छन् प्रचारको शैली अचम्मको हुन्छ । सबै काम हामीले नै गरेका हौं भन्छन्, आफूले गरेका काम ग¥यौं भने कुनै आपत्ति हुँदैनथ्यो तर कांग्रेसले गरेका राम्रा काममा पनि जस लिन खोज्ने उनीहरुको परिपाटी गलत छ । हामीले जे ग¥यौं त्यहीमात्र भन्यौं । संविधान ल्याउने काम पनि कांग्रेसले गरेको हो । अबको दिनमा देशव्यापी संगठन गरेर जानुको बिकल्प छैन ।

संसदमा कांग्रेसको भूमिका कमजोर भयो भनिन्छ नि ?
त्यसो भन्न मिल्दैन, बोलिरहेका छौं तर सुनुवाई हुँदैन । जबसम्म आफैभित्रको बिबाद अन्त्य हुन सक्दैन त्यतिबेला विपक्षीसँग मुकाबिला गर्न सकिँदैन । अहिले त हामी कम्युनिस्टको गतिविधि ‘वाच’ गरेर बसेका छौं, केही देखियो अब अरु हेर्न बाँकी नै छ । उनीहरु पनि आन्तरिक कलहले पिल्सिएका छन् ।

तपाई २ पटकसम्म सांसद बन्नुभयो त्यो क्षेत्रको लागि के गर्नुभयो ?
मैले गाउँगाउँ जोड्ने सडक पु¥याएको छु । विशेषगरी जनताको सानोभन्दा पनि सानो समस्यामा चासो दिने गर्छु । २७ नम्बर वडामा ढल जमेर हिडिसक्नु हुँदैनथ्यो त्यसको रोकथाम गरेको छु । सोलार बत्ति पनि बालेको छु । मेरो क्षमताले भ्याएसम्म गरेको छु तर अहिले सरकार हाम्रो छैन । विपक्षीलाई रिझाउन सकिँदैन र वजेट तथा योजना माग्दा पनि पाइँदैन । मलाई जनताले जसरी पत्याएर मत दिनुभएको त्यसको सधैं कदर गर्दछु ।

प्रतिक्रिया दिनुहोस्