डान्सबार कुटपिट काण्डका दुई जना पक्राउ



काठमाडौँ ।
काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो ।

ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी

काठमाडौँ कीर्तिपुर नगरपालिका–४ सल्यानथान बस्ने ५६ वर्षीय द्वारिका खनालको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करीब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँ बसपार्कस्थित ल्होत्से बहुद्देश्यीय प्रालिद्वारा सञ्चालित गोलघरमा विद्युत् चुहिएर भएको आगलागीमा तीन वटा भोजनालयमा क्षति भएको छ ।

जुवातास खेल्ने पक्राउ

कागेश्वरी मनहरा नगरपालिका–४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैधरुपमा जुवातास खेलिरहेका अवस्थामा मनिष श्रेष्ठसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद रु १७ हजार नगदसमेत बरामद भएको प्रहरीले आज जानकारी दिएको छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौँटार बस्ने राधा तामाङको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा धनुषा जनकपुरधाम–१ घर भएका ३० वर्षीय जीतेन्द्र थापा मगरसहित चार जनालाई नगद रु १९ हजारसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्