पहिरोले बगाएको विमानस्थलको पर्खाल गुणस्तरहीन बन्दै



रामधन राई, खोटाङ ।
पहिरोले वगाएको खोटाङस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलमा निर्माण भईरहेको पर्खाल गुणस्तरहीन पाइएको छ । गत जेठ १ गते दिउँसोको वर्षासँगै आएको भलपानीले विमानस्थलको दक्षिणपूर्वी भाग पहिरोले वगाएपछि निर्माण भईरहेको पर्खाल गुणस्तरहिन पाईएको हो ।
पहिरो गएको लामो समयपछि ठेक्का प्रक्रियाबाट निर्माण कार्य थालिएको पर्खाल गुणस्तरहीन भएको गुनासो आएपछि निरीक्षण गर्दा काममा ढिालासुस्ती तथा कम गुणस्तरको पाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले वताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणको करीब सात करोड रुपैंयाँ लागतमा कान्छाराम कन्ट्रक्शन प्रा.लि.ले पहिरो रोकथामका लागि पर्खाल निर्माणको जिम्मा लिएको हो । अनुगमनका क्रममा पर्खाल निर्माणमा प्रयोग गरिएको बालुवा लगायत निर्माण सामग्री कमसल हुनका साथै कामको गति सुस्त पाइएको अनुगमन टोलीले जनाएको छ ।

ठेकेदार कम्पनीका सञ्चालकलाई फोनमार्फत गुणस्तर निर्धारण गर्न र कामलाई समयमै सम्पन्न गर्ने गरी गति दिन आग्रह गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । रिजालका अनुसार आगामी १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको काम यही गतिमा अघि वढे समयमा सम्पन्न नहुने देखिएको छ ।

निर्माणाधिन पर्खाल लगायतमा प्रयोग हुने सामग्रीमा गुणस्तर कायम गर्न आफू प्रतिवद्ध रहेको ठेकेदार कान्छाराम तामाङले बताउनुभयो ।
भलपानीका कारण छेउबाट शुरु भएको पहिरो कालोपत्रे गरिएको धावनमार्गसम्म पुगेको छ । पहिरो गएलगत्तै तत्काल माटो हटाएर भलपानीलाई ढलमार्फत निकासा गर्ने व्यवस्था नगरिएका कारण ठूलो क्षति भएको स्थानीयले बताएका छन् ।

भलपानी थुनिएर शुरु भएको पहिरो करिब ५० मीटर फराकिलो भएर करीब ३ सय मिटर तलसम्म झरेको छ । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको हो ।

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको विमानस्थल गुणस्तरहीन बनेको यसअघि नै गुनासो आएको थियो । करीब तीन वर्षअघि मात्र कालोपत्रे गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सबैभन्दा नजिक रहेको विमानस्थलमा पहिरो गएलगत्तैदेखि उडान तथा अवतरण अवरुद्ध वनेको छ ।

तीन वटा विमानस्थल रहेको खोटाङ जिल्लामा अहिले कुनै पनि सञ्चालनमा छैन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क र उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा कालोपत्रेको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्