निःशुल्क बृहत स्वास्थ्य शिविरबाट पाँच सय जना लाभान्वित



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् ।

शिविरमा ३ सय ४५ जना महिला तथा १ सय ५३ जना पुरुषले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसैगरी शिविरमा ९२ जनाको सुगर परीक्षण, ८१ जनाको भिडियो एक्सरे, ६८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, ४५ जनालाई दन्त सेवा र ११ जनाको माइनर अप्रेसन गरिएको आयोजकले जनाएको छ । दन्त सेवातर्फ ११ जनाको दाँत उखेलिएको छ भने १० जना सुगरका नयाँ रोगी पत्ता लगाइएको छ ।

त्यस्तै शिविरमा दुई जनालाई अपाङ्गता परिचयपत्र सिफारिस गरिएको छ भने बहिरङ्ग सेवा उपलब्ध गराइएको बेनी अस्पतालका डाक्टर विराट शर्माले जानकारी दिए । उनका अनुसार शिविरमा निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको छ । शिविरमा ग्याँस्ट्रिक, श्वासप्रश्वास र छालासम्बन्धी रोगका धेरै बिरामीहरु भेटिएको डा. शर्माको भनाइ छ । दीर्घरोगका सुगर र प्रेसर तथा सरसफाइजन्य रोगीहरु पनि अधिकांश रहेको भन्दै उनले खानपान, सरसफाई र आरामलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

‘आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ भन्ने नारासहित सञ्चालित निःशुल्क बृहत स्वास्थ्य शिविरमा बेनपा ४ सिङ्गा र ५ नम्बर वडा पुलाचौरको विभिन्न स्थानबाट बिरामीहरु सेवा लिन आएका थिए । ग्रामीण भेगका खासगरी महिला तथा बुढाबुढीको स्वास्थ्यलाई ध्यानमा राखेर शिविरमा जोड दिइएको आयोजकले जनाएका छन् ।

शिविरमा स्त्री रोगसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य जाँच, बहिरङ्ग सेवातर्फ बालरोग, सुगर, प्रेसर, नाक, कान, घाँटी, हाडजोर्नी, नशासम्बन्धी, मानसिक स्वास्थ्य, आँखाको चेकजाँच, दन्त सेवातर्फ दाँत फुकाल्ने तथा चेकजाँच र माइनर अप्रेसन अन्तर्गत घाउको चिरफार गरिएको थियो ।

९३ वर्षीय ज्येष्ठनागरिक टेकबहादुर शाहीलाई नामदर्ताको बिरामी पूर्जा हस्तारण गरी शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकामसम्म पुगेर सेवा लिन नसकेका नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यसहित नगरपालिका र बेनी अस्पतालमार्फत शिविर सञ्चालन गरिएको बताए । उपप्रमुख सन्जु बरुवालले नगर क्षेत्र भित्रका सबै नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको हुँदा अन्य ठाउँमा पनि स्वास्थ्य शिविर चलाइने जानकारी दिइन् ।

शिविरमा बेनी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मनोज घिमिरेसहित डाक्टरहरु विराट शर्मा, मनु विश्वकर्मा, मनिसा सिंह, रविकान्त शाह, देवान कार्की, अनिल सुवेदी, बेनपाका स्वास्थ्य संयोजक लिला गौतम, सहसंयोजक सोमनाथ उपाध्याय, अस्पतालका इन्डोर इन्चार्ज मनदेवी गौतम, नर्सिङ अधिकृत सलिफा श्रेष्ठ, सिनियर अनमी सन्तुकुमारी कार्की, एचए राम खत्री, सिङ्गा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्