प्रदेश २ को नाम र राजधानीका विषयमा विवाद



कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश २ को राजधानी तथा नामाकरणका बिषयमा विवाद भएको छ ।
जसका कारण प्रदेशसभाले अझै नाम र स्थायी राजधानी टुंगाउन सकेको छैन । राजधानी र नामका लागि सुझाव संकलनका लागि गठन गरिएको समितिले आयोजना गरेको कार्यक्रममा समेत विवाद हुने गरेको छ ।

सुझाव संकलन समितिले जनकपुर सुझाव संकनल गर्ने क्रममा सुझाव संकलन कार्यक्रम शुरू भएको केहीबेरमै युवाहरुले संवाद तथा सुझाव आयोगविरुद्ध नारावाजी गर्दै कार्यक्रम बहिष्कार गरेका छन् ।

सुझाव संकलन कार्यक्रममा राजधानीको विषयमा एक स्वर देखिए पनि प्रदेशको नामाकरणको सवालमा भने मिश्रित प्रतिक्रिया आएको छ। राजधानीको विषयमा मतभेद नदेखिए पनि प्रदेशको नामाकरणको सवाल भने झने पेचिलो बन्दै गएको छ। कार्यक्रममा सहभागीले मिथिला, तिरहुत, मिथिला भोजपुरा, मधेश, मध्य मधेश, जनकजानकीलगायतका नाम सुझाएका छन्।

कतिपय सहभागीले सुझाव संकलनको नाउँमा सरकारले प्रदेशमा द्वन्द्व फैलाउने कार्य गरिरहेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले विगत केही वर्षदेखि शान्त रहेको यो प्रदेशको आठ जिल्लामा फेरि अशान्ति फैलाउने कार्य यो संवाद तथा सुझाव आयोगबाट नहोस् भन्दै त्यसतर्फ सचेत गराए।नेपाली कांग्रेस धनुषाको उपसभापति सन्तोष यादवले आयोगको औचित्यमाथि नै प्रश्न उठाए। उनले प्रदेशको नाम र राजधानीको निर्क्यौल प्रदेशसभामा दुई तिहाईबाटै लाग्ने भएकोले यो आयोगले संकलन गरेको सुझावको औचित्य के रहने भन्दै प्रश्न गरेका थिए।

कार्यक्रममा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेता कार्यकर्ताहरुले मधेश प्रदेशको पक्षमा वकालत गरेका छन्। कार्यक्रममा सहभागी पत्रकार श्यामसुन्दर शशिले मधेश प्रदेशको नाउँमा मिथिलाको प्राचिनतालाई धुमिल पार्ने षडयन्त्र भईरहेको आरोप लगाए।

खासगरी बारा,पर्सा र रौतहट क्षेत्रका नागरिकहरुले मिथिला प्रदेशमा असहमति जनाउदै आएका छन् भने मिथिला क्षेत्रकाले यसैलाई राजधानीको नाउको माग गर्दै आएका छन् । मुख्यमन्त्री लालबावु राउत पर्सा जिल्लावासी भएकाले उनलाई राजधानी र नाउका बिषयमा पनि दबाब परिरहेको उनी निकट श्रोतले बताएको छ ।

मधेश अधिकार संघर्ष समितिका सरोज मिश्र, परिवर्तनका लागि युवा अभियानका सुशील कर्णलगायतका युवाले यस्तो सम्वेदनशील विषयमा होटेलको बन्द कोठा भित्र गर्नु उपयुक्त नहुने भन्दै नारावाजी गर्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्