मन्थलीमा जगदीश स्मृति सभा



मन्थली (रामेछाप), चर्तित लेखक तथा समाजसेवी जगदीश घिमिरेको स्मृति दिवसका अवसरमा पाँचौं साहित्यक सभाअन्तर्गत विभिन्न साहित्यिक कार्यक्रम गरियो। मूल कार्यक्रमअन्तर्गत आयोजित कविता बाचन तथा पुरस्कार वितरण, स्वर्गीय घिमिरेको व्यक्तिमाथि विमर्श र उहाँसँगको संस्मरणबारे जानकारी आदानप्रदान गरिएको थियो।

मन्थली नगरपालिका र जगदीश घिमिरे प्रतिष्ठानद्वारा हालै आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार नगेन्द्रराज शर्माले जगदीशले देखेको सुन्दर रामेछापको सपना साकार पार्न नियमित रचनात्मक कार्यक्रम गर्दै आइएको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष दुुर्गा घिमिरेले साहित्य, समाजसेवा र विकासलाई महत्व दिनुुभएका स्वर्गीय घिमिरेको मूल्याङ्कन सर्जकहरूले गर्न सक्ने विचार व्यक्त गर्नुभयो।

मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले नगरपालिकाले नियमित रूपमा स्वर्गीय घिमिरेको स्मृतिमा साहित्य सभालगायतका कार्यमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ साहित्य साधक साहित्यिक पत्रकार रोचक घिमिरेलाई यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो। यसअघि आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्की सदस्य सचिव रमा शर्मा र प्रा.डा. ज्ञानु पाण्डेले आफ्ना अनुुभव सुनाउनुुभयो।

यसै बीच नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित स्वर्गीय घिमिरेको कथा सङ्ग्रहको विमोचन कार्यक्रममा सङ्ग्रहका सम्पादक कवि महेश प्रसाईंले स्वर्गीय जगदीश घिमिरेका रचनाहरू भारतका प्रख्यात पत्रिकाहरूमा छापिएकामा तिनै कथा समावेश गरी सङ्ग्रह प्रकाशित गरिएको जानकारी दिनुुभयो। प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य मातृका पोखरेलले स्व. घिमिरेको कथा सङ्ग्रह प्रकाशित गरेर उहाँलाई सम्मान गर्न पाएकोमा गौरव भएको बताउनुुभयो।

प्रतिक्रिया दिनुहोस्