शेषनागलाई विष्णुको उपदेश



पतञ्जलि–१७ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

पृथ्वीतलमा गएर भए पनि शंकरको ताण्डव नृत्य हेर्ने शेषनागको उत्कट चाहना रहेको कुरा नारायणले बुझ्नुभयो। उहाँले शेषनागलाई उपदेश शैलीमा भन्नुभयो– ‘नागराज ⁄ यो समग्र सृष्टि मनको उपज हो, मनोमय हो। कुनै पनि वस्तुको सृष्टिमा त्यस व्यक्तिको इच्छा, आकाङ्क्षा वा चाहना नै मूल कारण हुन्छ। व्यक्तिको मन संकल्पात्मक हुन्छ। उसले आफ्ना चाहना वा इच्छाहरूलाई सर्वप्रथम संकल्पबाट नै अभिव्यक्त गर्दछ। संकल्प कुनै पनि काम, कुरा वा क्रियाको प्रारम्भ हो। त्यसै हुनाले ज्ञानकाण्ड होस् वा कर्मकाण्ड। हामी सर्वप्रथम संकल्प नै बोल्छौं, संकल्प नै गर्छौं। हाम्रा मनका संकल्पहरू पनि सत्संकल्प हुनुपर्दछ, शिवसंकल्प हुनुपर्दछ, अनि सुन्दर एवं लोक कल्याणकारी संकल्प हुनुपर्दछ। वेद त्यसै हुनाले भन्दछन्– तन्मे मनः शिवसङ्कल्पमस्तु। बुझ्यौ ?’
‘बुझें। प्रभो ⁄ अगाडि आज्ञा होस्।’ शेषनागले निवेदन गरे।

‘हाम्रा ती मनोमय संकल्पहरू पनि हामीभित्रका परा, पश्यन्ती, मध्यमा हुँदै वैखरी वाणीका रूपमा बाहिर आउँछन्। त्यसैलाई हामी वाक् भन्दछौं। वाक्बाटै यस जगत्को सृष्टि स्थिति र विलय हुने गर्दछ। हामी तिर्खा लाग्दा पानी शब्दको उच्चारण गर्दछौं अनि मात्र कसैले हामीलाई पानी ल्याइदिन्छ। हामी भोक लाग्दा कुनै शब्दको उच्चारण गरेर नै खानेकुरा माग्दछौं अनि मात्र कसैले खाद्यवस्तु हाम्रा सामु टकारिदिन्छ। त्यसै गरी कुनै चोटपटक लागेर कष्टको अनुभव हुँदा वा अत्यन्त आनन्द र हर्षको अनुभूति हुदाँ हामी ध्वन्यात्मक शब्द नै उच्चारण गर्दछौं।

यस सृष्टिको समग्रवस्तु शब्दजन्य हुन्छ। शब्दका पछि वस्तु हिँडेका हुन्छन्। पदका पछाडि अर्थ दगुरेको हुन्छ। मानिसका पछि–पछि छाया हिँडेजस्तै। यो सृष्टिको प्रारम्भ गर्दा ब्रह्माजीले पहिले भूः शब्दको उच्चारण गर्नुभयो। अनि मात्र भूमिको सृष्टि भएको हो।
वाग्विज्ञान नै विश्वको पहिलो र सबैभन्दा महत्त्वपूर्ण विज्ञान हो। त्यसै हुनाले ऋषि, मुनि, तपस्वी र ठूला–ठूला विद्वान्हरू शब्दको साधना गर्दछन्। वाणीको आराधना गर्दछन्। वाक्तत्त्वको नै अनुसन्धान गर्दछन्। तिनी अर्थका पछि लाग्दैनन्। अर्थ वा वस्तु नै शब्दका पछाडि लागेको हुन्छ। यसका बारेमा म विस्तृत बताउँछु।
क्रमशः

प्रतिक्रिया दिनुहोस्