निर्मला पन्तको हत्या कथामा कोपिला



हेटौंडा, (नेस)। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको कथामा आधारित भएर फिल्म निर्माण भएको छ। फिल्मलाई कोपिला नाम दिइएको छ।

कोपिलाको करिब एक महिना अवधिमा सोमबार छायांकन सम्पन्न भएको छ। फिल्ममा शिवम अधिकारीको लेखन एवं निर्देशन रहेको छ। करिब ८० लाख रुपियाँको लागतमा निर्माण भएको फिल्ममा पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आइपुग्दासम्मको चित्रण गरिएको निर्देशक अधिकारीले बताए।

कोपिलामा पन्तका हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ। फिल्मको प्रमुख पात्र निर्मला अर्थात् कोपिलाको भूमिकामा सञ्जीवनी खरेललाई फिचर गरिएको छ।

फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता छन् भने कलाकार गणेश गिरीको प्रस्तुति छ। फिल्ममा सरिता गिरी, गणेश गिरी, सिद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् भने संगीत दीपक शर्माको रहेको छ। पन्तको हत्या भएको लगभग छ महिना बितिसक्यो। घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्