नेपथ्यले नचायो फिदिम



गणेश साम्पाङ, पाँचथर

“कञ्चनजंघा, कुम्कर्ण हिमाल अनि तमोर नदीको स्वागत छ है।’ लोकप्रिय गायक अमृत गुरुङ यसरी सम्बोधन गर्दै मञ्चमा उक्लेपछि ८ हजार दर्शकले एकसाथ ताली पिट्दै फिदिम माविको खेल मैदान गुञ्जयमान बनाएर स्वागत गरे। अनि शुरू भयो नेपथ्यको सांगीतिक कार्यक्रम।

गत मंगलबार साँझ पूर्वी पहाडमै पहिलोपटक नेपथ्यको सांगीतिक कार्यक्रमले रौनकता छायो। स्थानीय संस्था सुम्हालुङ युथ क्लब फिदिमले आयोजना गरेको कार्यक्रममा अमृत गुरुङले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

गुरुङले भेंडाको उनजस्तो, छेक्यो छेक्यो देउराली डाँडा, जोमसोमै बजारमा १२ बजे हावा सरर, शिरफूल शिरैमा, चरी मर्यो सिसैको गोलीले, हिमाल चुचुरी दाइको मन कस्तो माया निष्ठुरी, सानोमा सानो कमलको हाँगोजस्ता आफ्ना चर्चित गीत गाएर हजारौं दर्शकको वाहवाही बटुलेका थिए।

गुरुङले तिमी पनि नेपाली हामी पनि नेपाली, गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, रातो र चन्द्र सूर्य जंगी निशान हाम्रोजस्ता सन्देशमूलक गीत गाएर दर्शकलाई सन्देशसमेत बाँडेका थिए। गायक गुरुङले गीतसँगै बेलाबेलामा बालबालिकालाई सबैले पढ्न पाउने वातावरण बनाइदिनुपर्ने र नेपालजस्तो शुन्दर देश अरू नभएको हँुदा सबैले आफ्नो देशको भम्रण गरेर देश चिन्नुपर्ने सन्देशसमेत सेयर गरेका थिए। पाँचथर जिल्लामै यति धेरै दर्शक जम्मा भएको कार्यक्रम पहिलो भएकाले झापा, इलाम, ताप्लेजुङ र तेह्रथुमबाट समेत दर्शक आएका थिए।

प्रतिक्रिया दिनुहोस्