समृद्धि सूत्र



चिरञ्जीवी मास्के ।
समृद्धि कसरी सम्भव होला ? नेपालमा विकास र समृद्धिको नारा घन्किरहँदा आम मानिसले सोध्ने प्रश्न हो यो। तर, यसको जवाफ भने त्यति सहज छैन। किनभने समृद्धिका लागि सपना देख्नुपर्छ, योजना बनाउनुपर्छ तर नेपालमा न त सपना देख्ने छुट छ, न योजना बनाउने नै। नेपालको राजनीतिक दल, नेपाली जनता एकैपटक विकास र समृद्धि चाहन्छन् जुन कुरा सायद सम्भव नहोला।

चिनको तिब्बत विकास र समृद्धिको उत्कर्षमा पुगेको छ। विकास र समृद्धिको यात्रा शुरू गरेको १० वर्षको अवधिमा तिब्बतले नमुनायोग्य कामहरू गर्न सकेको छ। जसको श्रेय चीनका राष्ट्रपति सी जिन पिङलाई जान्छ। उनले तिब्बतलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन ठूल्ठूला सपना देखे, ठूल्ठूला योजना बनाए र त्यसको कार्यान्वयनका लागि अविचलित ढंगले अगाडि बढिरहे। तिब्बतमा जलस्रोत, पर्यटन, सडक, कृषि उत्पादनलगायतका हरेक क्षेत्रमा तीव्र विकास भइरहेको छ।

चीनको तिब्बत मात्र होइन झन्डै चार दशकको अवधिमा चीनको हरेक प्रान्त विकास र समृद्धिका लागि विश्वकै नमुना बन्दै गएको छ। देङ साओ पिङ युगबाट शुरू भएको चीनको समृद्धि यात्रा सी जिन पिङसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। जसको उदाहरण कृत्रिम चन्द्रमा र सूर्य निर्माणमा प्राप्त भएको सफलता हो। त्योसँगै समुन्द्रमाथि को पुल, २२ हजार मेगावाटको जलविद्युत् आयोजना, तीव्र गतिको रेल आदि चीनको विकासका अपत्यारिला उदाहरण हुन्।

झन्डै ४ हजारको उचाइमा रहेको तिब्बतको ल्हासामा १० वर्षको अवधिमा देखिएको विकासको नमुनाले नेपाललाई धेरै कुरा सिकाउन सक्छ। ल्हासाको विकास र समृद्धिको नमुनालाई नेपालले पच्छाउने हो भने १० वर्षकै अवधिमा नेपालले पनि धेरै विकास गर्न सक्छ किनभने नेपालमा पनि तिब्बतमा जस्तै धेरै हिमाली तथा उच्च पहाडी भू–भाग रहेको छ।

चीनको तिब्बतले १० वर्षको अवधिमा विकास र समृद्धिको फड्को मार्न सक्नुमा केही प्रमुख कारण छन्। जसको अनुशरण नेपालले गर्न सक्छ कि सक्दैन त्यो महत्वपूर्ण हुन्छ।
विकास र समृद्धिको पहिलो सर्त जमिनमा सरकारको अधिकार हो। तिब्बत मात्र होइन सिंगो चीनमा जमिनको अधिकार पूर्णरूपमा सरकारसँग रहेकाले विकासका हरेक योजना कार्यान्वयन गर्न सहज भएको छ। त्यसै गरी राजनीतिक इमानदारिता, नेतृत्वप्रति विश्वास, योजना निर्माण र कार्यान्वयनका लागि प्रतिबद्धता तथा जनसहभागिता विकास र समृद्धिका लागि अत्यावश्यक तत्वहरू हुन्।

तिब्बत जन कांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चू चुन्हुया तिब्बतको विकासमा राष्ट्रपति सी जिन पिङको सपना तथा योजना र तिब्बती जनताको विश्वास, प्रतिबद्धता र जनसहभागिता प्रमुख रहेको बताउँछन्। एक कार्यक्रममा सहभागी नेपाली पत्रकारहरूसँगको कुराकानीमा चू चुन्हुयाले आफू नेपालमा समेत बसेको र तिब्बत र नेपालबीच धेरै कुरामा समानता रहेकाले विकास र समृद्धिका लागि तिब्बतले नेपाललाई धेरै कुरामा सहयोग गर्न सक्ने बताएका थिए।

विकास र समृद्धिमा किन पछि छ नेपाल

सामाजिक, सांस्कृतिक र प्राकृतिकरूपमा नेपाल धेरै धनी छ। नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि समय मापन गौरीशङ्कर, माछापुच्छ्रेलगायतका थुप्रै हिम शृङ्खला छन्, हिमताल, हिउँले ढाकिने पहाडी बस्ती र डाँडाहरू, विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित मठ–मन्दिरहरू, ऐतिहासिक जातजाति, उनीहरूको भाषा, लिपि र संस्कार संस्कृति नेपालको विशेषता र सम्पत्ति हो। तर, यी विशेषताको उपयोग हुन सकेका छैनन्।

नेपालले प्राकृतिकरूपमा जे प्राप्त गरेको छ त्यसैको आधारमा विश्वभरिबाट पर्यटक आउने गरेका छन्। भएको विशेषता र सम्पत्तिलाई उचित व्यवस्थापन गर्न सकिएको खण्डमा नेपालमा भएको पर्यटन आगमनको संख्यालाई दोब्बरभन्दा बढी बनाउन सकिन्छ। तर, यो कुरामा न सरकारले चासो देखाएको पाइन्छ, न स्थानीय सरकार, राजनीतिक दल र अन्य निकायले नै चासो देखाएको पाइन्छ। नेपालको दुर्भाग्य त के छ भने कसैले विकास र समृद्धिको सपना देख्यो भने त्यसलाई चर्को ढंगले आलोचना मात्र हुन्छ। हामी आफू पनि सपना देख्दैनांै, योजना बनाउँदैनांै अनि अरूले देखेको सपना र योजनालाई पनि गलत ढंगले व्याख्या गरेर हतोत्साहित बनाउने प्रयत्न गर्छौं।

विकासका लागि सडक, विद्युत्, शिक्षा जस्ता कुराहरू प्राथामिक आवश्यकता हुन्। प्रधानमन्त्री केपी ओलीले रेल कुदाउने, पानी जहाज किन्ने, हावाबाट बिजुली निकाल्ने, घर–घरमा पाइपबाट ग्यास पुर्याउने, विद्युत्को अत्यधिक उपयोग गर्ने योजना बनाउँदा बौद्धिकवर्गले समेत त्यसलाई दिउँसै देखिएको सपना भन्दै चर्को आलोचना मात्र गरे। सामाजिक सञ्जालहरूमा सडकमा जमेको पानीमा जहाज कुदाएको व्यङ्ग्यात्मक चित्र र क्याप्सन राखेर प्रधानमन्त्री ओलीको योजनाको खिल्ली उडाउने काम भएका छन्। अरूले ल्याएको योजनाको आलोचना मात्र गर्ने, खिल्ली मात्र उडाउने अनि आफूचाँहि कुनै जिम्मेवारी निर्वाह गर्न तयार नहुने हो भने विकास र समृद्धि सम्भव हँदैन।

के हो समृद्धि सूत्र

नेपालको विकास र समृद्धिका लागि सर्वप्रथम नीतिमा सुधार आवश्यक छ। जमिनमा हदबन्धी मात्र हैन जमिनको सम्पूर्ण अधिकार सरकारमा रहनुपर्छ र सरकारले निश्चित समयका लागि नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने प्रावधान हुनुपर्छ। जमिनमा व्यक्तिको स्वामित्व नभएपछि विकासमा धेरै सहजता हुन्छ। जमिनमा व्यक्तिको स्वामित्व रहँदासम्म हरेक काममा बाधा अड्चन आउने निश्चित छ। सडक, पार्क, विद्युत् आयोजना, एयरपोर्ट जेसुकै बनाए पनि समस्या जमिनसँगै जोडिएर आउने गरेको छ। त्यसैले जमिनमा व्यक्तिको हैन सरकारको स्वामित्व कायम हुने कुरा नीतिगत सुधारको पहिलो प्राथमिकतामा रहनुपर्छ।

विकास र समृद्धिका लागि अर्को आवश्यकता भनेको सपना देख्ने र योजना बनाउने नेता तथा नेतालाई विश्वास गर्ने र सकारात्मक सुझाब र साथ दिने जनता हो। नेपालमा विकास र समृद्धि अगाडि बढाउन सपना देख्ने र योजना बनाउने नेतासँगै त्यसलाई सकारात्मकरूपमा ग्रहण गर्दै आवश्यक सुझाब र साथ दिने जनता चाहिन्छ। ढुङ्गे युगबाट शुरू भएको मानव विकासको चरण लोकतान्त्रिक गणतन्त्रसहितको आधुनिक युगसम्म आइपुग्दा बल्ल एक जना नेता केपी शर्मा ओलीले दीर्घकालीन प्रभाव पार्ने उत्कृष्ट लक्ष्यसहितको सपना देख्ने आँट गरेका थिए। तर, नेपाली बौद्धिकवर्गले त्यसलाई विश्वास गर्ने र ग्रहण गर्ने क्षमता नै राख्न सकेन। स्वस्थानी कथामा उल्लेख भएको महादेव चढ्ने रथ तयार गर्दा तेत्तिस कोटी देवताले त्यसको भारवहन गर्न नसके जस्तै ओलीले देखेको विकास र समृद्धिको सपनाको भार नेपालका बौद्धिकवर्गले वहन गर्न नसक्दा सामाजिक सञ्जालहरूमा नकारात्मक टीकाटिप्पणी भइरहेका छन्। नेपाल सानो छ भनेर सानो सोच राख्यौं भने विकास र समृद्धि सम्भव छैन। बृहत् सोच र योजना विकास र समृद्धिको सूत्र हुन् त्यसैले ओलीको सपना र योजनालाई आवश्यक सुझाबसहित साथ र सहयोग आवश्यक छ।

नेपालको सन्दर्भमा विकास र समृद्धिको बाधक सरकारी संयन्त्रहरूबीचको समन्वयको अभाव पनि हो। कुनै एउटा मन्त्रालय या कार्यालयले तयार गरेको योजना कार्यान्वयनमा सरकारकै अर्को कार्यालय या मन्त्रालयले नै असहयोग र अड्को थाप्ने काम गर्दा समस्या हुने गरेको छ। यसको एउटा उदाहरण दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजना नै छ। ऊर्जा मन्त्रालयअन्तर्गतको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको यो आयोजनामा बन्न मन्त्रालयलगायतको असहयोगका कारण लामो समय समस्या भइरह्यो। त्यसैले विकास र समृद्धिको योजनालाई निर्वाध ढंगले अगाडि बढाउन सरकारी निकायहरूबीच समन्वय र सहकार्य आवश्यक हुन्छ। जसका लागि योजना निर्माणकै चरणमा सरोकारवाला मन्त्रालय र कार्यालयहरूबीच संयुक्त बैठक गरेर कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ।

विकास र समृद्धिको अर्को महत्वपूर्ण पाटो भनेको जनसहभागिता हो। स्थानीय या केन्द्रीय सरकारले अघि सारेको योजना कार्यान्वयनमा जनसहभागिता रहेन भने त्यो योजना सफल हुन सक्दैन। त्यसैले सरकारले तल्लो तहसम्म पुगेर वस्तुगत ढंगले योजना छनोट गर्नुपर्छ ताकि त्यसमा आम जनताले अपनत्व महसुस गर्न सकून्। अनि जनताले पनि सरकारले अघि सारेका स्थानीय या राष्ट्रिय महत्वका योजनाहरूलाई आफ्नो दैनिकीसँग जोडेर सुझाब दिने र आवश्यक सहयोग गर्नुपर्छ। अहिले हाम्रो सोचाइ स–सानो काम पनि सरकारले गर्ने हो, हामीले त रमिता हेर्ने र आलोचना गर्ने मात्र हो भन्नेमा केन्द्रत छ। जबसम्म आम नागरिकले आफ्नो अधिकारसँगै कर्तव्यको बोध गर्दैनन् तबसम्म विकास र समृद्धि दिगो बन्न सक्दैन।

चीन, जापान, अमेरिका, स्विजरल्यान्डलगायत विश्वका जति पनि मुलुक विकास र समृद्धिमा अघि बढिरहेका छन् ती सबै मुलुकमा सपना देख्ने र योजना बनाउने सक्षम नेता तथा त्यसलाई साथ र सहयोग गर्ने जनता छन्। त्यसैले ती मुलुकले प्राकृतिक सुन्दरता मात्र हैन कृत्रिम सुन्दरतालाई समेत बिक्री गर्न सकेका छन्। नेपालमा सरकारको भरोसा जनता र जनताको साथ सरकारलाई हुन सक्यो भने प्राकृतिक सुन्दरता र सम्पत्तिबाटै आर्थिक उपार्जन गर्दै १० वर्षभन्दा छोटो समयमा विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्