‘उपसमितिले भेट्टायो गाडी खरिदमा त्रुटि’



यमलाल भुसाल, बुटवल
प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयमा फिर्ता गर्नुभएको छ।

प्रदेश–५ प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उहाँले विवादमा रहेको गाडी नचढ्ने र निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै आफूले चढ्दै आएको गाडी फिर्ता गर्नुभएको हो।
पोखरेलले आफू चढिरहेको लु१झ ४४७ नम्बरको गाडीको चाबी संसद् सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाई फिर्ता गर्नुभएको थियो।

‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीको कागजात झिकाई छानविन शुरू गरेकाले विवादित गाडी चढ्नु उपयुक्त छैन, त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ।’ –उहाँले भन्नुभयो।

गाडी फिर्तापछि उहाँ अटो रिक्सा चढेर घर फर्किनुभएको छ। प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो।

खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनका लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा उपसमिति गठन गरेर छानविन भइरहेको छ।

सो उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस) र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी) सदस्य छन्। उपसमितिको बसेको पहिलो बैठकले गाडी खरिदमा केही त्रुटी फेला परेको समिति सदस्य बैजनाथ जयसवालले बताउनुभयो। उपसमितिले आइतबार लेखा समितिलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यस्तै गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराई आफूले चढ्दै आएको लु१झ ४४१ नं. को गाडी फिर्ता गर्नुभएको हो।

जब माननीयले गाडी
फिर्ता गरे अनि अटो
रिक्सा चढेर घर फर्किए

प्रतिक्रिया दिनुहोस्