विदेशमा लुकाईएको सम्पत्ति छानविन गर्न राप्रपाको माग



नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा लुकाइएका अवैध धन बारे नेपाल सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र शंकास्पद व्यक्ति वा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न सरकार संग माग गरेको छ ।

शुक्रवार बसेको राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले केही नेपाली नागरिकले गैर कानुनी रुपमा विदेशी बैंकहरुमा अवैध धन लुकाएको तथ्य सहित सञ्चारमाध्यममा सार्वजनिक भएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाउदै छानविन गरि अवैध सम्पत्ति जफत गरि कानुन विपरीतका कार्यमा संलग्न अपराधीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

राप्रपा कार्यसम्पादन समिति बैठकले सशस्त्र प्रहरी बल अन्तर्गतका निकायमा ऐतिहासिक स्थल तथा देवी देवताहरुको नाममा स्थापना गरिएका गण तथा गुल्महरुको गोप्य ढंगबाट नाम परिवर्तन गरि नयाँ नामाकरण गरिनु दुःखद र दुर्भाग्यपूर्ण रहेको पनि जनाएको छ । सरकारले सशस्त्र प्रहरी गण, गुल्मको नाम परिवर्तन गर्ने कार्य पूर्वाग्रहपूर्ण र संकीर्ण मानसिकताको उपज राप्रपा बैठकले ठम्याएको छ ।

‘सशस्त्र प्रहरी बलमा प्रचलित नामको परिवर्तन केवल एउटा सामान्य घटना मात्रै होइन, हिन्दुत्व र हिन्दु मान्यता विरुद्ध भइरहेको षड्यन्त्रको नियमित श्रृङखला हो’ राप्रपाले भनेको छ– यसले कालान्तरमा सामाजिक, सांस्कृतिक सदभावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पु¥याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुन सक्छ । राप्रपाले यस्तो निर्णय तत्काल फिर्ता लिन पनि सरकारसंग माग गरेको छ ।

बैठकले पार्टीले हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत माघ ७ र ८ गते तय गरेको देशव्यापी घरदैलो कार्यक्रम तथा माघ १३, १४ र १५ गते सवै नगरपालिका र गाउँपालिकामा हुने हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण सभामा सक्रिय र अनिवार्य रुपमा सहभागी हुन पार्टीका सवै तहका सदस्यलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्