शैक्षिक भ्रमणमा गएकी विद्यार्थी एकहप्तादेखि लापता



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षकी विद्यार्थी सुनमाया तामाङ्ग हराएको एक हप्ता बितीसक्यो तैपनि केहि पत्ता लाग्न सकेको छैन । पुस २७ गतेदेखि उनी भक्तपुरबाट हराएकी हुन् ।
विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि आएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको हुन सक्ने अनुमानका आधारमा त्यस वरपर र नगरकोट, मेलम्ची, बनेपा, दोलखा तथा राजधानी सम्म खोजी गर्दा समेत हालसम्म पत्तो लाग्न सकेको छैन ।

सम्बन्धित शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लगायतको टोली अहिले उनको खोजीमा जुटेको तर काहिं कतै पत्ता लाग्न नसकेको शिक्षक देवी प्रसाद नेपालले जानकारी दिए । ‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौं, विभिन्न ठाउँमा रहेका प्रहरीचौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन ।’

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाले भने “हामी सबै संचार माध्ययमलाई यस विषयमा समाचार प्रकाशन तथा खोजीका लागि प्रहरी लगायतलाई अनुरोध गर्दछौं ।” बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनाबमा रहेको पनि उनले जानकारी दिए । शैक्षिक भ्रमणमा ५९ जना विद्यार्थीहरु आएको मध्ये अन्य सबै सकुशल घर फर्किएका छन् । अहिले खोजी जारी रहेकाले परिवारलाई सान्त्वना दिइरहेको विद्यालयले केहि दिनमा सबै अभिभावक र सम्बन्धित परिवारसँग सरसल्लाह गरि आवश्यक प्रकृया अगाडि बढाइने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाले जानकारी दिए ।

हराएकी सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका २ दिदीबहिनी छन् । हराएको दिनदेखि नै उनको खोजी जारी रहेको महानगरिय प्रहरीवृत्त भक्तपुरले जनाएको छ । सम्भावित सबैठाउँमा खोजी गर्दा समेत अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । एसपी हिमालय कुमार श्रेष्ठको नेतृत्वमा करिव ५० जना प्रहरीको टोलीले दैनिक खोजी गरिरहेको र भक्तपुरकै युवाहरुको ठूलो समुह पनि उनको खोजीमा सक्रिय रहेको छ । तालिम प्राप्त कुकुर सहितको सक्रियतामा पनि उनको कुनै पत्ता नलागेपछि यतिबेला प्रहरी प्रशासननै अचम्ममा परेको छ । उनी कुनै आपराधिक समुहको कब्जामा परेको हुन सक्ने आशंका गर्न थालिएको छ ।

यदि कसैले कतै फेला पार्नु भएमा नजिकको प्रहरीचौकी वा ९८४११०३२६५, ९८४१३८४२५९, ९८४१३७३११० र ९८६०५६४३६६ मा खबर गरि सहयोग गरिदिनु हुन सम्बन्धित विद्यालयले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्