दोस्रो निफ राजधानीमा



राजधानीमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) आयोजना हुने भएको छ। गत वर्ष पोखरामा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि निफ–२०१९ राजधानीमा गरिन लागेको यसबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन कार्यक्रम सार्थक हुनेमा जोड दिए।

‘हाम्रो जुरी कमिटीमा नेपालसँगै विदेशी फिल्मकर्मी पनि हुनुहुन्छ। त्यहाँ हाम्रो फिल्मलाई उहाँहरूले हेर्नुहुन्छ हाम्रो फिल्म कस्तो बनेको छ भन्ने सन्देश पनि जान्छ’, आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका केपीले भने– ‘यसमा हामीले सर्ट फिल्मसँगै फिक्सनलाई पनि समेटेका छौं भने कथा वाचन कार्यक्रम पनि छ। उत्कृष्ट हुने कथालाई हामी निर्माण गर्न मद्दत गर्नेछौं र फिचर फिल्मका लागि बाटो खोल्छौं।’

फिल्मकर्मी यादव खरेलले फिल्मकै मार्फत हामीले हाम्रो संस्कृतिलाई विश्वभर पुर्याउन सकिने बताए। ‘म त भन्छु यस किसिमको महोत्सवलाई नेपालको विदेशमा रहेका दूतावासले आयोजना गर्नुपर्दछ र त्यहाँ नेपाली फिल्म देखाउनुपर्दछ।’ –खरेलले भने। अर्का फिल्मकर्मी नीर शाहले महोत्सवले कलालाई निखार्ने बताए। ‘यस किसिमको महोत्सवले फिल्मलाई सिक्ने अवसर पनि दिन्छु।’ –शाहले भने।

केपी पाठकका अनुसार महोत्सव आगामी फेब्रुअरी २१ देखि २५ सम्म काठमाडांैमा हुनेछ। यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्ममा प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन्। तीमध्ये नेपालका १६ फिल्म समावेश छन्। महोत्सवमा समावेश विदेशी फिल्ममध्ये ३१ सर्ट फिल्म छन् भने ६ फिचर फिल्म छन्। यस्तै गरी नेपाली फिल्ममा ६ फिचर र १० सर्ट फिल्म रहेका छन्। नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई सर्ट फिल्महरू पनि महोत्सवमा समावेश गरिएको छ। महोत्सवमा नयाँ फिल्मकर्मीका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रम पनि गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्