वाइडबडीमा के भयो सहमति ? सांसद्को प्रश्न सोझो, प्रधानमन्त्रीको जवाफ घुमाउरो



?????????????????????????????????????????????????????????

गंगा बराल, काठमाडौं ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका छन् । १० जना सांसद्ले प्रश्न गर्दा पनि कसैले चर्चित काण्ड बाइडबडीको विषयमा प्रश्न गरेनन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ५६ अनुसार संसद् बैठकमा पहिलोपटक प्रश्न गरिएको हो । १ घण्टा ७ मिनेटसम्म जवाफ दिनुभएका प्रधानमन्त्रीले प्रश्नलाई सजिलो ढंगले लिनुभएको थियो । सांसद्हरुले प्रधानमन्त्रीको आसन्न स्वीटजरल्याण्ड भ्रमण, स्वीस बैंकमा रहेको नेपालीको सम्पत्ति, संविधान संशोधन, जनयुद्धमा भएका पीडित र बेपत्ता भएकाको अवस्थाको बारेमा पनि प्रश्न गरेका थिए ।

बैठकमा नेकपाका सांसदहरु खगराज अधिकारी, प्रभु साह, रेखा शर्मा, कृष्णभक्त पोखरेलले , नेपाली कांग्रेसका सांसदहरु मिनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, दीलेन्द्रप्रसाद बडु, अतहर कमाल मुसलमान, संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद चन्दा चौधरीले प्रश्न गरेका थिए ।

एक सांसदले गरेको प्रश्नको जवाफ दिएपछि सांसदले अर्को प्रश्न गरेका थिए । सुरुमा प्रधानमन्त्री जवाफ दिन आएपछि सांसदले आफ्नै ठाउँबाट प्रश्न गरेका थिए । नियमावली अनुसार १० जनाले मात्र प्रश्न गर्न पाउने व्यवस्था छ । जवाफमाथि पुनः प्रश्न गर्न पाउने व्यवस्था छैन ।

तर कांग्रेस सांसदहरुले तनहुँमा स्थापना गर्ने भनिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा स्थापना गर्ने भनिएको सुशील कोइराला क्यान्सर अस्पतालको विषयमा प्रश्न गरेका थिए । सांसद् दीलेन्द्रप्रसाद बडुले २ वटा अस्पतालको विषयमा प्रश्न गर्नुभएको थियो । सांसद थापाले डा. गोबिन्द केसीको मागलाई सरकारले पूरा गर्ने चासो नदेखाएकोमा आपत्ति जनाउनुभयो तर प्रधानमन्त्री ओलीले भने सरकारले गरेको सहमतिलाई संसदले अनुमोदन गर्ने भएकाले संसदकै सर्वोच्चताको विषय भएको जवाफ दिनुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरुसँगको छलफल भएर नै अस्पताल निर्माणको प्रक्रिया तत्काल रोकिएको जवाफ दिएपनि कांग्रेस सांसदले मानेनन् । प्रधानमन्त्रीको जवाफमा पुन ः प्रश्न गर्न नपाइने व्यवस्था भएपनि फेरि किन कांग्रेस सांसद बालकृष्ण खाँणले प्रतिप्रश्न गर्नुभएको हो भनेर नेकपाका सांसद् खगराज अधिकारीले नियमापत्ति गर्नुभएको थियो । सभामुख कृष्णबहादुर महराले प्रश्नमाथि प्रश्न नभई अर्कै समय दिइएको प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सरकार बिकास र समृद्धिमा अघि बढेको , भ्रष्टाचार र अनियमितता रोक्न लागिपरेको र जनताको चाहना अनुसार अघि बढेको जवाफ दिनुभएको थियो । उहाँले आइतबारबाट आफ्नो नेतृत्व टोली स्वीटजरल्याण्ड जाने र आफ्नो तर्फबाट मन्तव्य राख्ने बताउनुभयो । उहाँले नेपाललाई निम्तो गर्नु पनि चानचुने कुरा नभएको दाबी गर्नुभयो ।

फोरम सांसद प्रदीप यादबले संविधान संशोधन कहिलेसम्म हुन्छ भनेर प्रश्न गर्नुभएको थियो । यादबको जवाफमा प्रधानमन्त्री ओलीले कसैकसैले जनमत बटुल्नका लागि पनि संविधान संशोधनको हल्ला गरेको बताउनुभयो । ‘राष्ट्रको हित र आवश्यकता अनुसार संविधान संशोधन हुन्छ, अन्धधुन्दमा समर्थन र विरोध गर्नु हुँदैन’ ओलीले भन्नुभयो । उहाँले संविधान संशोधनलाई फेशनको बिषय नबनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्