बजार क्षेत्रमा जडान गरेका सीसी क्यामेरा बिक्रिकालागि व्यापारीका पसलमा



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर बजार सीसी क्यामेरा बिहिन बनेको छ । बजारमा लगाएका १६ थान सिसिटिभी क्यामेरा एकाएक अजभोली गायब भएका छन् । कञ्चनपुरका प्रमुख सहरहरुका लगाएका लगभग २० क्यामेरा पाँच महिना नबित्दै जडान गरिएको ठाँउ बाट नै गायब भएका छन् । दुई महिना अघि सम्म क्यामेरा बिग्रिएर काम नलाग्ने अस्थामा पोलहरुमा नै रहेका थिए भने आजभोली पोलहरुमा कुनै पनि क्यामेरा छैनन् । हाल ती सीसी क्यामेरा एकजना व्यापारीको पसलमा बिक्रिकालागि राखिएको व्यापारीक स्रोतले बताएको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मुख्य बजारका प्रमुख प्रमुख क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।

सिसि क्यामेरा बिग्रिएको ५ महिना बितिसक्दा पनि मर्मत तथा जडानका लागि कुनै पहल गरिएको छैन् । कञ्चनपुरको प्रमुख बजारका रुपमा रहेको महेन्द्रनगर बजार ५ महिना देखि सिसि क्यामेरा बिहिन हुन पुगेको हो ।

महेन्द्रनगर बजार क्षेत्रको सुरक्षा हुने, भिडभाँड हुने बजार क्षेत्रमा क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने र अपराध न्युनिकरणमा टेवा पुग्ने, अपराधिक कृयाकलाप गरेर भाग्ने समुहलाई सहज पहिचान गरेर पक्रिन सहज हुने भन्दैै ३२ असारमा सिसी क्यामेरा जडान गरिएको थियो । बजार क्षेत्रमा चार किलोमिटरसम्मको क्षेत्र समेट्न सक्ने क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएका थियो ।
तर क्यामेरा राखेको १५ दिन पनि नबित्दै उक्त क्यामेराहरु बिग्रिएका हुन् । क्यामेरालाई महेन्द्रनगर बजारकै एक अपराधिक समुहले तोडफोड तथा बिगारेको हुन सक्ने तथ्यहरु आउन थालेका छन् । सिसि क्यामेरा निर्मला पन्तको बलात्कार पछि हत्या भएको अवधिबाट बिग्रिएका तथ्यहरु छन् ।

“पाँच महिना नबित्दै कञ्चनपुरका प्रमुख सहरहरुमा रहेका सबै सीसी क्यामेरा गायब”

भीमदत्त नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा बजार क्षेत्रमा १६ वटा क्यामेरा जडान गरेको थियो । जडान गरिएका १६ सिसीटिभी क्यामरा मध्ये असोज सम्म ७ वटा मात्र राम्रो रहेको तर अहिले भने सबै क्यामेरा केहि बिग्रएको र केहि तोडफोड तथा हराएको एसपी कुवेर कडायत ले बताए ।

महेन्द्रनगर बजार क्षेत्रका सिसीटिभी क्यामेरा आन्दोलनका बेला तोडफोड नभएर नियोजित तरिकाले बिगारिएको हुन सक्ने स्थानिय एक पत्रकारले बताए । ‘१० साउन अर्थात निर्मला पन्त बलात्कार पछि हत्याको घटना घट्नु अघि सबै क्यामेराले राम्रो काम गरिरहेका अवस्थामा एक्कासी त्यस पछि क्रमिक रुपमा महेन्द्रनगर बजारका प्रमुख चोक चोकमा जडान गरीएका क्यामेराहरु कसरी बिग्रीए ?’ महेन्द्रनगरका एकजना व्यापारी विश्वलाल खत्री प्रश्न गर्छन् ।

भीमदत्त नगरपालिकाले झण्डै २० लाखको लागतमा खरिद गरेको क्यामेरा न्यून गुणस्तरको र कामै नलाग्ने अवस्थामा राखिएको स्थानियले आरोप लगाएका छन् । भीनपाको क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले बजार क्षेत्रमा जडान गरेका सिसीटिभी क्यामेराहरु ‘नाइटभिजन क्यामेरा’ भएको दावि गर्दै आएको छ । क्यामेरा जडान गरेको ३ महिना नबित्दै उक्त क्यामेराहरु बेकामे भएर बिग्रीएका छन् ।
महेन्द्रनगर बजार सिसि क्यामेरा बिहिन भएका बेला सरोकारवाला निकायले हाल सम्म पनि ध्यान दिन सकेको छैन् । अहिले महेन्द्रनगर बजार र आशपासका क्षेत्रहरु क्यामेराको निगरानीमा छैनन् । २० लाखको लगानीलाई भीमदत्तले वालुवामा पानी झै बनाएको छ । ५ महिना सम्म क्यामेराको मर्मत तथा जडान किन गरिएन भने शंकाको प्रश्न अब भीनपा तर्फ तेर्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्