प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा नेकपाका ४ जना, कांग्रेसका ३ जना, राजपाका १ जना, संघीय समाजबादी फोरम नेपालका १ जना स्वतन्त्र सांसद ५ जना मध्ये १ जनाले आज प्रधानमन्त्रीलाई प्रश्न राख्ने सहकर्मी गंगा बरालले जानकारी दिएका छन ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणबारे पनि जानकारी गराइने छ ।

बैठकमा पारमाणविक विधेयक, नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुनेछ । यसका साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत आजको बैठकमा प्रस्तुत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्